९२ हजार बिरामीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा
2024/11/17, 1:29
 
ss

कैलालीको धनगढीमा ९२ हजारको संख्यामा बिरामीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। उपमहानगरपालिकाको ‘विशेषज्ञ चिकित्सकसहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिक’बाट ९२ हजार २५३ जनालाई सो सेवा उपलब्ध गराइएको हो। उपमहानगरपालिकाले २०७९ साउन १ गतेबाट सुरु गरेको निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १९ वटै वडाका नागरिकले स्वास्थ्य सेवा पाएका छन्।

उपमहानगरपालिकाको तथ्याङ्क अनुसार हालसम्म ७१ हजार ८७८ महिला र २० हजार ३५७ पुरुषले यस्तो सेवा लिइसकेका छन्। हालससम्म ९ हजार १७७ बिरामीलाई थप उपचारका लागि रेफर समेत गरिएको छ। उपमहानगरले जनरल फिजिसियन, स्त्री तथा प्रसुती, आँखा रोग, दाँत, हाडजोर्नी, प्रयोगशाला, इसीजी, अल्ट्रासाउन्ड, गर्भ परिक्षण लगायत सेवा उपलब्ध गराउँदै आएको छ। उपमहानगरपालिकाले २०७९ साउन १ गतेबाट १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ। हालसम्म जनरल फिजिसियनबाट ३२ हजार ७७२ महिला र १२ हजार ८६१ महिला गरेर ४५ हजार ६३३ बिरामीले स्वास्थ्य उपचार सेवा लिइसकेका छन्।

उपमहानगरपालिकाको घुम्ती शिविरबाट हालसम्म ६ हजार ४४८ महिला र २ हजार ६९३ पुरुष गरेर ९ हजार १७७ बिरामीलाई थप उपचारका लागि रेफर गरिएको छ। उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउन प्राथमिकता दिएको छ। क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउने गरेका छन्। उपमहानगरपालिकाको प्रतिवेदनमा सात हजार चार सय एक जनाले प्रयोगशाला सेवा, चार हजार ८१६ ले इसीजी, १० हजार ४६२ ले भिडिओ एक्सरे, ९ हजार १६७ गर्भवती महिला र पाँच हजार ४३७ जना ७० वर्ष माथिकाले सेवा लिएका छन्।