बैतडीमा गएको सोमबार आफ्नै जेठानीले देवरानीको हत्या गरेपछि दुवैका छोराछोरीहरुको विचल्ली भएको छ । सामान्य घरायसी विवादमा डिलाशैनी गाउँपालिका–२ छेपट्टाकी ३० बर्षीया दिपा बोहराले आफ्नै देवरानी २५ बर्षीया सुनिता बोहराको टाउकोमा चिर्पटले हिर्काएर हत्या गरेकी थिइन् ।
देवरानीको हत्यापछि दिपा प्रहरी नियन्त्रणमा छिन् भने सुनिताको मृत्यु भएका कारण दुवैका छोराछोरीहरुको विचल्ली भएको छ । मृतक सुनिताको घरमा ८ बर्षीय छोरा र दुई बर्षीया छोरी छन् । आमाको निधन भएपछि नाबालक छोराछोरीहरुको विचल्ली भएको स्थानीय अकबर बोहराले बताए । सुनिताका श्रीमान चालकको काम गर्दै आएका थिए । आफ्नै भाउजुले श्रीमतिको हत्या गरेपछि उनी घर फर्किएका छन् । तर सुनिताको निधन भएपछि घरपरिवार चलाउन निकै समस्या भएको बोहराले बताए ।
यता देवरानीको हत्या गरेकै दिनदेखि प्रहरी नियन्त्रणमा रहेकी दिपामाथि अनुसन्धान कार्य जारी रहेको छ । कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ । दिपाका श्रीमान काठमाण्डौंमा सानोतिनो व्यवसाय गर्दै आएका थिए । घटनापछि उनी घर फर्र्र्किएका छन् ।
दिपाको घरमा १४ र १२ बर्षीय दुई छोरा र १० बर्षीया एक छोरी गरेर तीनजना छोराछोरी रहेका छन् । उनका छोराछोरीको पनि विचल्ली भएको स्थानीयहरुले बताएका छन् । डिलाशैनी घटनाले दुवै जनाको घरपरिवार विचल्लीमा परेको छ । उनीहरुले पालेका गाईवस्तु भोकभोकै गोठमा छन् भने घरमा नाबालक छोराछोरीहरुको विचल्ली भएको छ ।
घटनाका बिषयमा दिपालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । घरायसी विवादकै कारण दिपाले आफ्नी देवरानीको हत्या गरेको अहिलेसम्म खुल्न आएको र थप अनुसन्धान भइरहेको उनले बताए ।