
बैतडीको श्रीभावर–हाट सडक खण्डको धेरै स्थानमा पहिरो खस्दा आवतजावतमा समस्या भएको छ । श्रीभावरदेखि हाटसम्मको सडकका धेरै ठाउँमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा समस्या आएको सवारी चालकहरुले बताएका छन् ।

सडक कच्ची भएकाले ठाउँ ठाउँमा खाल्डाखुल्डीमा जमेको पानीले समेत सवारी साधन सञ्चालनमा समस्या आएको छ । सवारी साधन सञ्चालन नहुँदा नगरपालिकामा पुग्ने नागरिकलाई सास्ती हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना पर्न सफल सडकमा स्तरोन्नतिको काम भने हालसम्म सुरु हुन सकेको छैन् । चालु आर्थिक वर्षमै आठ किलोमिटर कालोपत्रेका लागि काम सुुरु हुने भनिए पनि लकडाउनका कारण काम गर्न नसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ ।
