सुदूरपश्चिममा ६ पदका लागि हुँदैछ उपनिर्वाचनः यी हुन् चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु
2024/11/18, 2:38
 
ss

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि उम्मेदवारहरूले मनोनयन दर्ता गराइसकेका छन्। यहाँ जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदका लागि निर्वाचन हुँदैछ।

एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीलाई अघि सारेको छ। बझाङको सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाएको हो।

नेपाली काँग्रेसले स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ। सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि मोहनबहादुर थापा, दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि धनबहादुर कुँवर र भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि प्रकाशबहादुर चन्दलाई कांग्रेसले उम्मेदवार बनाएको छ।

यस्तै माओवादी केन्द्रले स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा राजुकुमारी विकलाई उम्मेदवार बनाएको छ। सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि पुष्करबहादुर बोहरा, पुर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्ष पदका लागि देवीलाल थापा, दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदका लागि वीरसिंह कार्की र भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि नानाराम कोलीलाई उम्मेदवार बनाएको छ।

यता नागरिक उन्मुक्ति पार्टीले पनि सुर्मा गाउँपालिका–४ वडाध्यक्ष पदका लागि जेनिशा बोहरालाई उम्मेदवार बनाइएको छ भने भीमदत्त नगरपालिका–६ को वडाध्यक्ष पदका लागि हरिष डगौरालाई उम्मेदवार बनाइएको छ। जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि कांग्रेसले टीका चौधरी भुललाई उम्मेदवार बनाएको छ।

यसअघि बसेको कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले जिसस कैलाली प्रमुखको उम्मेदवारको लागि धनगढी उपमहानगरपालिका–२ का वडासदस्य केशवराज पन्त लाई बनाउने निर्णय गरेको थियो। तर निर्वाचन आयोगले जुनसुकै स्थानीय तहको प्रमुख पदमा पुरुष भए उपप्रमुख महिला अनिवार्य अर्थात पुरुष उपप्रमुख रहेको ठाउँमा महिला प्रमुख अनिवार्य भन्ने परिपत्र गरेपछि कांग्रेसले सो निर्णय गरेको हो।

उनी कैलारी गाउँपालिका–२ का वडासदस्य हुन्। त्यस्तै, नागरिक उन्मुक्तिले रुकमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ। उनी टीकापुर नगरपालिका–४ की महिला वडासदस्य हुन्। १३ स्थानीय तह रहेको कैलाली जिससमा कुल मतभार २६ छ। कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार छ।