नेपाली कांग्रेसको युवा संकल्प यात्रा सुदूरपश्चिम क्षेत्रमा भोलि हुने
2024/11/18, 2:44
 
dd

नेपाली कांग्रेसको युवा संकल्प यात्रा सुदूरपश्चिम क्षेत्रमा भोलि हुने भएको छ। कात्तिक २३ गते पूर्वको मेचीबाट सुरु भएको यो यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने भएको छ।

युवाहरूलाई राष्ट्रिय निर्माणमा सक्रिय बनाउने उद्देश्यले कांग्रेसका युवा नेता भुपेन्द्रजङ शाहीको संयोजकत्वमा सुरू भएको यात्रामा ४० भन्दा बढी युवा नेताहरू सहभागी भएका छन् । संकल्प यात्रा देशभरका प्रमुख स्थानहरूमा पुग्दै भ्रष्टाचार, बेथिति, सहकारी ठगी, र असमावेशी शासनका विरुद्ध आवाज उठाउँदै आएको छ ।

नेविसंघका केन्द्रीय सदस्य घनश्याम बमका अनुसार यो यात्रा सुशासन प्रवर्द्धन, युवालाई स्वरोजगारमा प्रोत्साहन, उद्यमशीलता, नवप्रवर्तन, र कृषिमा लगानीको प्रवर्द्धन जस्ता विभिन्न विषयहरूलाई प्राथमिकतामा राखेर सञ्चालन भइरहेको बताएका छन् ।

बमले भने, “देशभर फैलिएको भ्रष्टाचार, सहकारी ठगी, र शासन व्यवस्थामा भएका बेथिति विरुद्ध दबाब दिन यो यात्रा महत्वपूर्ण छ। युवाहरूलाई स्वरोजगारमा संलग्न गराई स्वदेशमै सम्भावना खोज्ने वातावरण निर्माण गर्न यो अभियानले भूमिका खेल्नेछ।,”

यात्रा सुदूरपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरूमा पुगेर त्यहाँका जनतालाई युवाका प्राथमिकता र आवश्यकताबारे सचेत बनाउन केन्द्रित हुने आयोजकले जानकारी दिएका छन्। कांग्रेसले देशव्यापी रूपमा युवाहरूको सक्रियता र नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यले यस्तो यात्रा सञ्चालन गरेको हो।