१३ वर्षअघि इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन्। आफ्नै क्षमताले काम गर्न रुचाउने उनी एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित बन्न सफल भएका हुन्। उनले २०६८ सालदेखि टीकापुरमा अनुपमा कङ्क्रिट ब्लक उद्योग सञ्चालन गर्दै आएका छन्। अध्ययनका हिसाबले इन्जिनियर बन्नुपर्ने दबाबकाबिच थापाले भने आर्थिक उन्नतिको सपना व्यवसाय गरेर मात्रै पूरा गर्न सकिने बताए।
विदेशमा गर्ने मेहनत स्वदेशमा गर्दा सोचेको भन्दा राम्रो आम्दानी गर्न सकिने उनले बताए। विदेशमा गएर अरुको काम गर्नुभन्दा स्वदेशमा रोजगारी सृजना गरेर अरुलाई स्वरोजगार बनाउन पाउँदा उनी उत्साहित छन्। उसो त जागिर खान पनि थापालाई समस्या थिएन। लोकसेवा लेडेर जागिर खानसक्ने क्षमता थापामा थियो। उता राजनीतिक कुल घरानामा जन्मिएका उनलाई राजनीतिक पहुँचकै भरमा भए पनि जागिर खानसक्ने स्थिति थियो।
किनभने बुबा रतनबहादुर थापा सुदूरपश्चिम प्रदेश सभा सदस्य भइसकेका थिए। उनी एमालेको कैलाली जिल्ला अध्यक्ष हुँदै हाल नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष छन्। थापाकी आमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको उपप्रमुख भएर हाल नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेशको सांसद हुँदै मन्त्रीसमेत बनिसकेकी छन्।
‘म सानैदेखि आफैँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेको मान्छे हुँ। त्यसकारण पनि म बुबाआमासँग नजिक भइनँ। आमा मन्त्री बन्दा त म एक महिनापछि भेट्न गएको थिएँ’, थापाले भने, ‘उहाँहरूको आफ्नो व्यक्तिगत जिन्दगी छ मेरो आफ्नो। सबैले आआफ्नो गरेर खाएका छौँ, कसैले कोहीप्रति निर्भर हुनुपरेको छैन, यही खुसीको कुरा हो। ‘आफ्नो व्यवसायबाट अन्य आठ–दश जना अन्यको परिवार पालिएको भन्दै त्यसमा आफूलाई गर्व लाग्ने थापाको भनाइ छ।
सामाजिक क्षेत्रमा प्रत्यक्ष जोडिएका थापा अरुको सिको गरेर अगाडि बढ्न नहुने धारणा राख्छन्। ‘मैले कसैलाई सहयोग गर्दा त्यो दुनियाँलाई भनिरहनुपर्दैन। मैले निःस्वार्थ गरेको सेवा उसैले थाहा पाए पुग्छ’, उनले भने, ‘यहाँ गलत राजनीतिक संस्कार भएर पनि हुनसक्छ मैले राजनीतिक क्षेत्रमा चासो दिएको छैन। तर कुनै दलको सिद्धान्तभन्दा बाहिर रहेर निःस्वार्थ समाजसेवामा लाग्ने रहर भने छ।’ थापाबाट सिकेर धेरैले ब्लक उद्योगसमेत सञ्चालन गरेका छन्।