धनगढीको चटकपुरस्थित नेपाल आयल निगमको डिपो सार्न तयारी भएको छ । उक्त डिपोका कारण स्थानीय बस्तीमा जोखिम बढ्नुका साथै निगमको दैनिक कामकाज समेत प्रभावित भएकाले सार्ने तयारी भएको हो ।
यो डिपो २०३७ सालमा निर्माण भएको थियो । त्यो बेला उक्त क्षेत्रमा सर्वसाधारणको बस्ती थिएन । अहिले डिपो वरिपरी विस्तारै बाक्लो घना मानव वस्ती बसिसकेको छ । डिपोका कारण मानव वस्ती नै जोखिममा परेपछि डिपो सार्ने योजनामा निगम पुगेको हो ।
स्थानीयबासीन्दाले डिपो घनावस्तीको बीचमा भएको भन्दै धनगढी नगरपालिकामा दैनिकरुपमा गुनासो आउन थालेपछि नगरपालिकाले समेत उक्त डिपो सार्न निगमलाई आग्रह गर्दै आएको थियो ।
यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई समेत स्थानीयबासीले उक्त डिपो सार्नुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । मन्त्री भण्डारीले समेत डिपो सार्न निगमलाई निर्देशन दिएका छन् ।
नेपाल आयल निगमको उपनिर्देशक प्रदिप यादबका अनुसार तत्कालिन समयमा दैनिक ४ ट्यांकर इन्धन बिक्री गर्ने यो डिपोबाट अहिले दैनिक ६० ट्यांकरको हाराहारीमा बिक्री हुन थालेको छ ।
‘पहिलेको तुलनामा इन्धनको बिक्री बढ्दै गर्दा हालको डिपोमा ट्यांकरलाई इन्धन लोड अनलोड गर्न पनि ठूलो समस्या भएको छ,’ यादबले क्लिकमान्डुसँग भने,‘साँघुरो भएर ट्यांकर राख्नसमेत ठूलो समस्या भएको छ । साथै डिपोका कारण स्थानीय बस्ती पनि जोखिममा परेकाले सार्ने योजनामा निगम अघिबढेको छ ।’
धनगढीको भीमदत्त पन्त राजमार्गसँगै जोडिएको चटकपुरमा १ विगाह ८ कटहा जग्गामा विद्यमान डिपो कार्यालय सञ्चालनमा छ।
डिपो कार्यालयका प्रमुख हरिदत्त जोशीका अनुसार ५(६ वर्षदेखि उक्त डिपो कार्यालय सार्ने प्रयास भइरहेको छ । उक्त डिपोबाट सूदुरपश्चिमको ९ जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, बझाङ्ग, बाजुरा, डोटी, अछाम र कैलालीमा इन्धन बितरण भइरहेको छ ।
डिपोबाट दैनिक ८० किलोलिटर पेट्रोल, २५० किलोलिटर डिजेल बिक्री हुन्छ । डिपोमा हाल ७ दिनको माग पुग्ने गरी ७६० किलोलिटरको २ वटा डिजेलको भर्टिकल ट्यांकी छ भने ७६० किलोलिटरकै १ वटा पेट्रोलको डिपो छ ।
यसवाहेक ७०(७० किलोलिटरको पेट्रोल, डिजेल र मट्टिटेलको तीनवटा अन्डरग्राउण्ड ट्यांकी छ ।
पूर्ववर्ति सरकार केपी ओलीको सरकारले बजेट वक्तव्यमार्फत् प्रत्येक प्रदेशमा कम्तीमा ९० दिनको माग धान्न गरी पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण गर्नुपर्ने घोषणा गरेको थियो ।
‘त्यो योजनालाई अघि बढाउन पनि अहिलेको विद्यमान डिपो भएको स्थान निक्कै साँघुरो छ,’ यादबले भने– ‘त्यो योजनालाई कार्यान्वयनमा ल्याउन कम्तिमा २५ विगाहभन्दा बढी जग्गा आवश्यक पर्छ । यो सबै विषयलाई ध्यानमा राख्दै डिपो नै सार्ने योजना अघि बढाइएको हो ।’
उनका अनुसार अहिले उक्त डिपो सार्न धनगढी र वरिपरीका जिल्लामा जग्गा खोज्ने कामसमेत सुरु भएको छ ।
डिपो सार्ने विषयमा यसअघि अध्ययन समितिले समेत अध्ययन गरि प्रतिवेदन बुझाइसकेको छ । निगमका उपनिर्देशकद्वय र दिवाकर मल्लिक सम्मिलित अध्ययन समितिले २०८० असार २६ गते उक्त डिपो सार्नुपर्ने प्रतिवेदन दिएको थियो ।
कञ्चनपुरको पुर्नवासमा सार्ने तयारी
उक्त अध्ययन समितिले गरेको अध्ययनअनुसार धनगढीको डिपोलाई सारेर धनगढीको पुर्नवासमा निर्माण गर्नुपर्ने सुझाव दिएको थियो ।
जसअनुसार नयाँ डिपो सारेर निर्माण गर्न कञ्चनपुर नगरपालिकाको पुर्नवासस्थित राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको जग्गा उपयुक्त रहेको उक्त अध्ययन समितिले प्रतिवेदन दिएको थियो ।
निगमले राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको करिब ७४ बिगाह जग्गामध्ये २२ बिघा जग्गा खरिद गरेर डिपो सार्ने योजना अघि बढाएको हो ।
‘जग्गा हेरिसकेका छौं, अब उक्त जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएर डिपो सार्न काम सुरु गर्न लागेका छौं,’ यादबले भने ।