कैलालीमा प्रहरीको थुनाबाट भागेका अभियुक्त अझै भेटिएका छैनन् । हजुर आमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ बर्षीय गणेशबहादुर ऐर बुधबार राती हत्कडी सहित भागेका उनको खोजी भईरहेको हो ।
ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला राति ९ बजे हत्कडी सहित भागेका थिए । राति ९ बजेदेखि नै खोजी जारी रहेको अहिलेसम्म फेला नपरेको कैलाली प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले जानकारी दिए । प्रहरी नायव उपरिक्षक प्रतिक विष्ट नेतृत्वको प्रहरी टोली परिचालन गरिएको छ ।
ऐर ७५ बर्षीया हजुरआमा पार्वतीदेवीको हत्या आरोपमा बुधबार बिहान पक्राउ परेका थिए । उनले मंगलबार दिउसो फलामको रड र धारिलो हतियार प्रहार गरी हजुर आमाको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरको पश्चिम पट्टी अरहरको झारले छोपेको अवस्थामा शव फेला परेको थियो । यता सुदूरपश्चिमका निमित्त प्रहरी प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले इलाका प्रहरी कार्यालय फल्टुडेमा कार्यरत प्रहरीमाथि पनि छानविन हुने जानकारी दिए ।