गते जेठ २७ गते पञ्चदेवल विनायक नगरपालिका –९ कालेकाँडास्थित अछाम र दैलेख जोड्ने कर्णाली पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे पर्यो । उद्धार गर्ने क्रममा जीवन रोका मगरका दुई वटा खच्चड मरे । खाद्यान्न ढुवानी गर्न अछामको कालेकाँडाबाट दैलेखको खिड्कीज्युला जाने क्रममा एकतर्फको लठ्ठा चुँडिएको थियो । लठ्ठा चुँडिदा स्थानीय जीवन रोकामगर, नवीन रोकामगर र राजेन्द्र बोहराका १३ खच्चड पुलमा फसेका थिए । पुलमा फसेको खच्चडको चार घण्टापछि उद्धार भएको थियो ।
खच्चड पुलमा अड्केको लामो समयसम्म पनि उद्धार हुन नसक्दा पुल कोल्टे परेको समाचार देशभर भाइरल भयो । संसद्मा कुरा उठ्यो, सरोकारवालाले फिल्डमै प्राविधिक कर्मचारी पठाएर पुलको अवस्थाको अध्ययन पनि गरे । प्राविधिक टोलीको प्रतिवेदनले भन्यो(पुल मर्मत गरेरमात्रै संचालन गर्न सक्ने अवस्था छैन, जीर्ण भएको छ, आवातजावत गर्न जोखिम छ, नयाँ निर्माण गर्नुपर्छ । तर अहिलेसम्म नयाँ पुल त बनेको छैन नै । बरू जीर्ण पुलबाटै सर्वसाधारणले वारिपारि गर्न बाध्य छन् । वैकल्पिक भनिएको पुलबाट आवतजावत गर्न करिब १ घण्टा बढी समय लाग्ने गरेका कारण स्थानीयले यही पुलको प्रयोग गरिरहेका छन् ।
अछामतर्फ रहेको चण्डिका माविमा कक्षा(७ मा अध्ययनरत दैलेखको आठबिस नगरपालिका –५ कि तुल्सी चौलागाईले भनिन्, ‘नयाँ बनेको पुलबाट स्कुल पुग्न करिब एक घण्टा लाग्छ । जीर्ण भएपनि यो पुलबाट जाँदा १० मिनेटमात्रै लाग्छ । नयाँ बनेको पुलबाट महिनावारी भएको समयमा जान मिल्दैन । पुलसँगै स्थानीयले मान्ने ठूलो देवताको मन्दिर छ ।’ महिनावारी भएको समयमा कि त विद्यालय जान नै छोड्नुपर्ने कि जोखिम मोलेरै जीर्ण पुलबाट जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।विद्यालयमा हाजिर नहुँदा प्रतिदिन २० रुपैयाँ जरिवाना तिर्नपर्ने नियम रहेको अर्की छात्रा गीता सुनारले बताइन् । पहिलेको तुलनामा विद्यालयमा छात्राको उपस्थिति कम देखिएको चण्डिका माध्यमिक विद्यालयका लेखापाल गणेश कार्कीले बताए । ‘केही छात्राहरु जोखिम मोलेर विद्यालय आउने गर्छन् । अधिकांश छात्राहरु महिनावारीको ९ दिनसम्म विद्यालयमा अनुपस्थित हुन्छन्,’ उनले भने ।
पञ्चदेवल विनायक नगरपालिका – ९ का वडाध्यक्ष रामप्रसाद जैशीका अनुसार नवनिर्मित पुलको दैलेखपट्टि नैनेल देवताको मन्दिर छ । परापूर्वकालदेखि स्थानीयले नैनेल देवताको पूजा गर्ने गरेका छन् । महिनावारी तथा गर्भवती समयमा मन्दिरको नजिक जान नहुने यहाँको धार्मिक विश्वास छ । विद्यालयका छात्रा मात्र हैन, अछामको पञ्चदेवल विनायक नगरपालिकाका अधिकांश गर्भवती महिला र महिनावारी हुने महिलाहरु दैलेखको खिड्किज्यूला बजारमा सामान किन्न जाँदा लठ्ठा चुँडिएर जीर्ण बनेको पुलबाटै यात्रा गर्ने गरेका छन् । जसका कारण स्थानीयलाई जोखिम बढेको छ ।