धनगढी उप–महानगरपालिका वडा नं १७ लाई आँप गाउँको पहिचान दिनका लागि काम गर्न थालिएको छ । उप–महानगरपालिकाले एक गाउँ एक उत्पादन भन्ने नीति लिए अनुरुप वडा नम्बर १७ धुर्झन्ना, पथरी, डमौलियाका प्रत्येक घरमा अनिवार्य रुपमा दुई वटा बिरुवा लगाउन थालेको हो ।
उप–महानगरपालिकाले २ वटा आँपका बिरुवा निःशुल्क उपलब्ध गराएको छ भने घर धनीले अनिवार्य रुपमा दुईवटा बिरुवा लगाउनु पर्ने व्यवस्था गरिएको छ । धनगढीका नगर प्रमुख नृपबहादुर वडले वडा नम्बर १७ अन्य वडाको तुलनामा पछाडी परेकाले विकास निर्माणका काममा प्राथमिकतामा पारिएको बताए । उनले वडा नम्बर १७ कृषिका साथै फलफुल खेतीका लागि सम्भाव्य ठाउँ भएकाले आँपको गाउँको रुपमा विकास गर्न थालिएको बताए ।
नगर प्रमुख वडले बिहीबार मात्रै वडामै पुगेर स्थानीयको बारीमा आफै आँप रोपेर सहयोग गरे । नगर प्रमुख वडले आफु निर्वाचित भएर आउने वित्तिकै भोट बराबर बोट, त्यसपछि धनगढीको जनसंख्या बराबर बोटको अभियान सुरु गरेको बताए । वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले नगर प्रमुख वडको पहलमा आँप गाउँ अभियान अन्तरगत २ हजार ९ सयको हाराहारीमा आँपको बिरुवा वडावासीमा उपलब्ध गराएको बताए । धनगढी उप–महानगरपालिका आरयूडिपीको सहयोग र विकासका लागि यूवा ऐक्यवद्धताको साझेदारीमा आँपको विरुवा उपलब्ध गराएको संस्थाका अध्यक्ष विनय लामाले बताए ।