स्थानीय तहको उपनिर्वाचनको मिति नजिकिँदै जाँदा पूर्वीचौकी गाउँपालिकामा चुनावी सरगर्मी बढेको छ । गाउँपालिकाको वडा नं ६ को अध्यक्ष पदका लागि मंसिर १६ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा तान्न दलका नेता- कार्यकर्ताहरु उम्मेदवार सहित प्रचारप्रसारमा केन्द्रित छन् । वडाध्यक्ष पदमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार खडा गरेका छन् । चारै जना उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन् । एमाले र कांग्रेसका उम्मेदवारहरु यसअघि पनि चुनावी प्रतिस्पर्धा गरिसकेका व्यक्ति हुन् भने माओवादी केन्द्र र रास्वपाले नयाँ अनुहारलाई मैदानमा उतारेका छन् ।
कांग्रेस उम्मेदवार मोहन थापाले आफू २०५४ सालमा साविकको गाउँ विकास समिति अध्यक्ष भएर काम गरिसकेको र जनताको बिचमा अटुट रुपमा समाज सेवा गरिरहेका कारण मतदाताले आफूलाई छान्ने दाबी गरे । ‘चुनाव हो, यस्तै हुन्छ भनेर ठोकुवा गर्न त सकिँदैन, तर अहिलेसम्मको अवस्था हेर्दा म ढुक्कै छु’, मोहनले भने, ‘पूर्वीचौकीमा कांग्रेसको उपस्थिति बलियो छ, गत निर्वाचनमा हामीले क्लीनस्वीप गरेका छौं, यो नै मैले जित्ने प्रमुख आधार हो ।’ उनले २०७४ को निर्वाचनमा हारेका कारण पनि जनताले आफूलाई सान्त्वना दिने विश्वास रहेको बताए ।
एमाले उम्मेदवार देवबहादुर थापा पनि आफूले निर्वाचन जित्नेमा विश्वस्त छन् । ‘मैले २०७४ सालको निर्वाचनबाट वडाध्यक्ष हुँदा जनताको हितलाई केन्द्रविन्दुमा राखेर काम गरेको थिएँ । त्यसैले जनताले मलाई राम्रोसँग चिनेका छन्’, उनी भन्छन्, ‘जनताको बिचमा जाँदा सबैबाट मैले राम्रो माया पाइरहेको छु ।’ आफू लामो समयदेखि सामाजिक राजनीतिक क्रियाकलापमा सक्रिय रहेकोले पनि चुनाव जित्न सहज हुने उनको जिकिर छ । माओवादी केन्द्रका उम्मेदवार देवीलाल थापाले लामो समयदेखि राजनीति गर्दै आएको र हालसम्म कुनै लाभको पदमा नगएको हुँदा नयाँ अनुहार भएकाले जनताले आफूलाई विश्वास गर्ने बताए ।
स्थानीय तहको निर्वाचनमा नयाँ अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी जानकी खड्का कुँवर पनि उत्साहित देखिन्छिन् । उनले चुनावी प्रतिस्पर्धामा आफू एकमात्रै महिला उम्मेदवार भएको हुँदा जित सुनिश्चित भएको दाबी गरेकी छन् । ‘घरदैलो अभियानमा जाँदा पुराना दलहरुबाट कुनै परिवर्तन नहुने निष्कर्षमा जनता पुगेको मैले पाएँ’, उनी भन्छिन्, ‘जनताले परिवर्तन चाहेका छन् र सोका लागि नयाँ अनुहारको खोजीमा छन् । त्यसैले म जित्नेमा ढुक्क छु ।’ कुल एक हजार ५९३ मतदाता रहेको यस वडामा दुई मतदान केन्द्र कायम गरिएको छ । शिशु सुधार माध्यमिक विद्यालय गाँजरी केन्द्रमा एक हजार ४०६ मतदाताले मतदान गर्नेछन् । शारदा आधारभूत विद्यालय बासकोटको अर्को मतदान केन्द्रमा १८७ मतदाता रहेका छन् ।
विगत निर्वाचनको परिणाम
साविक गाँजरी गाउँ विकास समिति हुँदा २०५४ सालको स्थानीय निकाय निर्वाचनमा कांग्रेसले जितेको थियो । २०७३ सालमा स्थानीय तहको पुनर्संरचना भएपछि २०७४ साल असार १४ गते भएको निर्वाचनमा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा रहेको थियो । सो निर्वाचनमा पनि कांग्रेस र एमालेबाट अहिलेकै उम्मेदवारहरु चुनावी मैदानमा थिए । सो निर्वाचनमा एमालेका देवबहादुरले कांग्रेसका मोहनलाई १८१ मतान्तरले पछि पारेका थिए । देवबहादुरले ५७६ मत पाउँदा मोहनले ३९५ मतमा चित्त बुझाउनुपरेको थियो । माओवादीका उम्मेदवार चन्नरे दमाईले १९ मत पाएका थिए ।
२०७९ साल बैशाख ३० गते भएको दोस्रो स्थानीय तहको निर्वाचनमा कांग्रेसले पूरै गाउँपालिकामा क्लीन स्वीप गरेको थियो । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सातै वडाका ३७ पदमा कांग्रेसका उम्मेवारहरु विजयी भएका थिए । यस वडामा कांग्रेसका पुष्पराज जोशी ५१३ मत ल्याई विजयी भएका थिए । उनका मुख्य प्रतिस्पर्धी एमालेका देवबहादुर भण्डारीले ३८७ मतमै चित्त बुझाउनुपर्यो । सो निर्वाचनमा माओवादी केन्द्रका टंकबहादुर नेपालीले ४९ मत पाएका थिए । यस्तै राप्रपाका प्रकाश थापाले एक मतमात्र पाएका थिए । २०७९ सालमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको २०७९ साल मंसिर १४ गते हृदयाघातका कारण निधन भएपछि उक्त पद रिक्त थियो ।