कैलालीमा ‘डन हौँ’ भन्दै युवकलाई अपहरण गर्ने तीन जना पक्राउ
2024/11/25, 5:26
 
don group

कैलालीमा युवकलाई अपहरण गरि शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

उनकाअनुसार उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटमा पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ का १८ वर्षीय राजेश खड्का (नाम परिवर्तन) र कबेदारस्यु गाउँपालिका–६ बस्ने १७ वर्षीय राकेश धामी (नाम परिवर्तन) रहेको एसपी बिष्टले बताए । उनीहरु दुवै जनालाई आइतबार साँझ धनगढीस्थित कोठाबाट अपहरण गरेर रेडक्रस कार्यालय नजिकै रहेको बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको पाइएको उनले बताए ।

कुटपिट गर्दै कैद गरिएको भिडियोमा तीनै जनाले धामी र खड्कालाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको देखिन्छ । यसअघि उनीहरुको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेका थिए । उनीहरुले कोठाबाट कपडा र नगद समेत चोरी गरेर लगेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, सोही समूहले एक हप्ता अघि कैलालीको गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय योगेन्द्र शाहीलाई समेत अपहरण गरेर शिवपुरी जंगलमा लगि कुटपिट गरेका खुलेको छ ।

विवाहमा विवाद भएको निहुँ पारेर पक्राउ परेका मध्येका विवेक खड्काकै समूहले शाहीलाई अत्तरियाबाट अपहरण गरि शिवपुरी जंगलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गरेका थिए । प्रहरीकाअनुसार खड्काको समूहले डन हौँ भन्दै युवालाई अपहरण गरि बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको छ ।

कुटपिट गरेको भिडियो मोबाइलमा कैद गरेर अन्य व्यक्तिलाई समेत देखाएर तर्साउने गरेको पनि पाइएको प्रहरीको भनाई छ । उनीहरु तीनै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।