सुदूरपश्चिममा कस्तो छ उपनिर्वाचनको तयारी ?
2024/11/26, 6:20
 
nirbachaqn aayog

उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिममा रिक्त रहेका पाँच पदका लागि हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको हो । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार मतपत्रसहितका निर्वाचन सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइएको छ ।

‘निर्वाचन अधिकृतले १३ मंसिरदेखि मतदानस्थलमा कर्मचारी खटाउनुहुन्छ,’ उनले भने, ‘सोही राति १२ बजेदेखि मौन अवधि पनि सुरु हुन्छ ।’ पाँचवटा वडा अध्यक्षका लागि हुने उपनिर्वाचनका लागि १८ वटा मतदान केन्द्र तोकिएको छ । बाजुराको स्वामीकार्तिक गाउँपालिकामा उपाध्यक्ष पदका लागि उपनिर्वाचन भइरहेको छ । त्यहाँ ७ हजार ४ सय ६० मतदाता छन् भने पाँच मतदान केन्द्र तोकिएको छ ।

त्यस्तै, दार्चुलाको दुहुँ गाउँपालिका– ५ मा १ हजार २ सय ७२ मतदाता छन् भने दुईवटा मतदान केन्द्र रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए । डोटीको पूर्वीचौकी गाउँपालिका– ६ मा १ हजार ५ सय ९३ मतदाता छन् भने तीन मतदान केन्द्र तोकिएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा ५ हजार ४ सय ३४ मतदाता छन् भने छ मतदान केन्द्र छन् । बझाङको सुर्मा गाउँपालिका– ४ मा १ हजार ५ सय ५४ मतदाता छन् भने दुई मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी चुनावी प्रतिस्पर्धामा छन् । गत वर्षको माघ पहिलो साता स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

बझाङको सुर्मा गाउँपालिका– ४ को वडा अध्यक्ष पदका लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धीरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुष्करबहादुर बोहराको उम्मेदवारी छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको २०८० जेठमा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।

डोटीको पूर्वीचौकी गाउँपालिका– ६ को वडा अध्यक्ष पदका लागि एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का मैदानमा छन् । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको हो ।

दार्चुलाको दुहुँ गाउँपालिका– ५ को वडा अध्यक्ष पदका लागि एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट वीरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यहाँ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको असार २०८० मा मृत्यु भएको थियो ।