डडेल्धुरा प्रहरीले माक्स प्रयोग नगर्ने १६ जनालाई कारवाही गरेको छ । कोरोना जोखिमका बेला मास्क प्रयोग नगरी सार्वजनिक स्थानमा भेटिएका सवारी चालक र स्थानीय व्यापारीलाई कारवाही गरेको प्रहरीले जनाएको छ ।
बिहीबार जिल्ला सदरमुकाम बागबजारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मास्क नलगाउने १६ जनालाई कारवाही गरी एक हजार ६ सय राजस्व जरिवाना संकलन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए । टोलीले उनीहरुलाई सम्झाइ बुझाइ गरेर छाडेको प्रहरीले जनाएको छ ।
कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरेको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न समेत प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।