बाजुराको साँफे–मार्तडी सडक तीन दिनदेखि अवरुद्ध
2020/07/09, 8:40
 
pahiro

बाजुराको साँफे–मार्तडी सडक खण्ड विगत ३ दिनदेखि अवरुद्ध भएको छ । बाजुराको बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोटद्वारी खण्ड बाढीले बगाउँदा आवतजावत अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

‘पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक अवरुद्ध भएको हो’ बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले भने ‘ठूलो पहिरो छ । तत्काल हटाउन सकिने अवस्था पनि छैन ।’ उनले करिब १०० मिटर सडक भासिएको बताए ।

‘३ दिन अघि खसेको पहिरोले बुढीगंगा नदीको धार परिवर्तन गरेको थियो । धार परिर्वतन गरेको नदिले सडक काट्न थाल्यो ।’ प्रजिअ गैरेले भने ‘सडक पनि भासियो पहिरो पनि खस्यो ।’ अछामको साँफे हुँदै बाजुरा जाने एक मात्र मुख्य सडक अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र परेका छन् ।

घटनास्थलमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अझैसम्म पहिरो हटाएर सकिएको छैन । बिहीबार मात्रै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि घटनाको निरीक्षण गरेका थिए ।