दार्चुला–तिङ्कर सडक निरीक्षण गर्दै फर्किए दुई मन्त्री, हेलिकोप्टर मार्फत स्काभेटर छाङरु पुर्‍याइने
2024/11/28, 9:58
 
ss

संघीय सरकारका दुई मन्त्रीले महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका छन् । रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दार्चुलाले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिङ्कर सडक निरीक्षण गरेका हुन् ।

टोलीमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल पनि सहभागी थिए । उक्त टोली नेपाली सेनाको हेलिकोप्टरमार्फत व्यास गाउँपालिका–१ छाङ्गरु पुगेको थियो ।

सो टोलीले छाङ्गरुमा स्थानीयसँग छलफल गरेको छ । छाङ्गरुबाट सुनेसरास्थित नेपाली सेनाको गणमा बसेर ब्रिफिङ लिने कार्यक्रम भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । निरीक्षणपछि दार्चुला–तिङकर सडकलाई छुट्टै योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

भौगोलिक अवस्थाका कारण पनि छुट्टै योजनाको रूपमा अघि बढाउन भौतिकमन्त्री सहमत भएको सांसद बडूले जानकारी दिए । ‘अहिलेको भ्रमणले तीन वटा उपलब्धि हासिल हुने देखेको छु,ु उनले भने, ुमन्त्रीद्वयबाट तिङ्कर सडकलाई छुट्टै योजनाको रूपमा अघि बढाउने, पाँच वर्षभित्र सडकको ट्रयाक खुलाउने गरी बजेट व्यवस्थापन गर्ने र हेलिकोप्टरमार्फत व्याँसको छाङ्गरुमा स्काभेटर पुगाउने प्रतिबद्धता भएको छ ।’

त्रिदेशीय सडकका रूपमा रहेको दार्चुला–तिङ्कर सडक सामरिक महत्त्व बोकेको सडक हो । तर, हरेक वर्ष थोरै बजेट विनियोजन हुँदा लक्ष्यअनुसार सडकको प्रगति हुन नसकेको गुनासो स्थानीयले गरेका छन् ।

२०७७ माघ २८ देखि सडक निर्माण सुरु भएको हो । यस सडकको तुसारपानी–तिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किमिमध्ये हालसम्म सेनाले १३।५९ किमी मात्र ट्र्याक खुलाइएको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले नौ करोड बजेट विनियोजन गरेको छ ।

उक्त रकमले १।८ किमी नयाँ ट्र्याक खोल्ने र १।२ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको छ । यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्करसम्म चार सय २५ किमि छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्डको काम सेनालाई दिइएको हो । सेनाले आर्थिक वर्ष २०८८–८९ भित्र उक्त खण्डको ट्र्याक खोल्ने काम सकिसक्नुपर्नेछ ।

यो सडक नबन्दा सर्वसाधारण सदरमुकाम दार्चुलाबाट छाङ्गरु, तिङ्कर, कालापानीलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । हालैमात्र तिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् ।