सुरक्षित आवास परियोजनाः बर्दगोरियामा मुक्त कमैयाका घर निर्माण
2024/11/29, 12:01
 
ss

सुरक्षित आवास परियोजना अन्तर्गत कैलालीको बर्दगोरियामा १२ वटा घर निर्माण गरिएका छन् । ह्याबिट्याट फर ह्युमिनिटी, राष्ट्रिय दलित नेटवर्क र सुदूरपश्चिम प्रदेश सरकारको लागत साझेदारीमा बर्दगोरिया गाउँपालिका–४ दानुवाफाटामा मुक्त कमैयाका घरहरू निर्माण गरिएका हुन् ।

निर्माण गरिएका घरको एक कार्यक्रमका बिच सामाजिक लेखा परीक्षण समेत गरिएको छ । यो बस्तीका १२ वटा घर निर्माणका लागि ८० लाख ९४ हजार पाँचसय ९४ रुपियाँ खर्च गरिएको छ ।

यसका लागि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ३७ लाख ३३ हजार तीन सय ३२, ह्याबिट्याट फर ह्युमिनिटी र राष्ट्रिय दलित नेटवर्कले २७ लाख ७७ हजार दुई सय ६२ रुपियाँ खर्च गरेका छन् भने स्थानीय लाभग्राहीहरूले १५ लाख ८४ हजार बराबरको श्रमदान गरेका छन् । 

प्रति घर ६ लाख ७४ हजार ५ सय ५० रुपियाँ लागत लागेको लेखा परीक्षण मार्फत सार्वजनिक गरिएको छ । सुरक्षित आवासविहिन परिवार घर निर्माण भएपछि खुशी भएका छन् ।

४२ घर धुरी रहेको यो मुक्त कमैया बस्तीमा अब ३० घर बन्न बाँकी छन् । उनीहरूको घर समेत निर्माण गर्न स्थानीय पालिका, सरोकारवाला संस्था र प्रदेश सरकार बिच समन्वय भइरहेको जनाइएको छ।