धनगढीमा १४ वर्षपछि ‘राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव’ हुँदै
2024/11/29, 4:57
 
pustak

कैलालीको धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा पुस ९ गतेदेखि १५ गतेसम्म शैक्षिक महोत्सव हुने भएको हो । 

आयोजकले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सव हुने जानकारी दिएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीका अध्यक्ष भीम पडालका अनुसार सुदूरपश्चिम प्रदेशको पर्यटन, शिक्षा, स्टेशनरी, मसलन्द तथा छपाई व्यवसायको विकास तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव भइरहेको जानकारी दिए ।

‘नवौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवबाट यस क्षेत्रको शैक्षिक, आर्थिक एवम् सामाजिक विकासमा सकारात्मक प्रभाव पार्ने आशा लिएका छौं,’ उनले भने, ‘महोत्सवले देशभरी छरिएर रहेका प्रकाशक, स्टेशनरी वितरक तथा मसलन्द सामाग्री र शिक्षासँग सम्बन्धित सम्पूर्ण सरोकारवालालाई एकीकृत गर्ने छ ।’

अध्यक्ष पडालका अनुसार महोत्सवमा एक सय ५० स्टल रहने छन् । महोत्सवलाई दुई लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड बढीको कारोबार हुने अनुमान गरिएको उनले जानकारी दिए । महोत्सव आयोजन गर्न झण्डै दुई करोड खर्च हुने अनुमान गरिएको छ । 

महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई एक सय राखिएको छ । जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तीहरुलाई महोत्सवमा प्रवेश निशुल्कको व्यवस्था गरिएको छ ।

यसअघि २०६७ सालमा धनगढीमा राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव भएकोमा १४ वर्षपछि फेरि धनगढीमा आयोजना गर्न लागिएको हो ।