धनगढी घर भई हाल डोटीको जोरायल गाउँपालिकामा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी ३१ बर्षीय अनमीमा कोरोना पुष्टि भएको हो। ‘प्राथमिक स्वास्थ्य केन्द्रमै काम गर्दै आएकी थिए,’ उनले भनिन्, ‘कोरोना पुष्टि भएपछि धनगढी आएर होम आईसोलेसनमा बसेकी छु। कोरोनाको लक्षण भने देखिएको छैन्।’
उनी डोटीको जोरायल गाउँपालिका वडा नम्वर ३ मा रहेको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छिन्। असार २१ गते आइतबार जिल्ला अस्पताल डोटीबाट उनको स्वाव संकलन गरि धनगढी पठाईएकोमा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमूख रमेश मलासीले जानकारी दिए।
संक्रमण पुष्टी भएकी स्वास्थ्यकर्मीको कन्ट्रयाक्ट ट्रेसिङ् गरी बिहिबार २२ जनाको स्वाव संकलन गर्दै पिसिआर परीक्षणका लागि डडेल्धुरा पठाईएको जोरायल गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक गोबिन्द बिष्टले जानकारी दिए।
स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि विहिबारदेखि सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा बन्द गरेको छ। जोरायल गाउँपालिकामा हालसम्म १८ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १७ जना घर फर्किसकेका छन।