परशुराम नगरपालिकाले शैक्षिक प्रमाणपत्र धितो राखेर निर्व्याजी ऋण दिदैं
2024/12/04, 1:06
 
dd

डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीलाई निर्व्याजी ऋण दिनका लागि प्रक्रिया अगाडि बढाएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि नगरपालिकाले शैक्षिक प्रमाण पत्र धितो राखेर निव्र्याजी ऋण उपलब्ध गराउन लागेको हो । 

शैक्षिक ऋण उपलब्ध गराउन नगरपालिकाले आवेदन पनि खुला गरिसकेको छ । कार्तिक २० देखि मंसिर २० गतेसम्म एक महिनाको म्याद तोकेरे आवेदन पेश गर्ने मिति तोकिएको छ । विपन्न, लोपन्मुख, पढाइमा जेहनदार र उत्कृष्ट नतिजाको आधारमा नगरपालिकाको कार्यपालिकाको बैठकले शैक्षिक ऋण स्वीकृत गर्ने जनाएको छ । पाँच लाख रुपैयाँ शैक्षिक ऋण उपलब्ध गराउने प्रकृया सुरु गरेको नगरपाकिलाले उच्च शिक्षा अध्ययनका लागि उक्त ऋण उपलब्ध गराउन लागेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक बजेट तथा कार्यक्रममै समावेश गरेर नगर क्षेत्रका विद्यार्थीहरुका लागि शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो । प्राविधिक तथा व्यवसायिक शिक्षाअन्तर्गत ओभरसियर, एचए, स्टाफ नर्स, इन्जिनियरिङ, पाइलोटिङ, एमबीबीएस, कृषि, पशु, सूचना प्रविधि लगायतमा अध्ययन गर्ने इच्छुक विद्यार्थीले नगरपालिकाबाट शैक्षिक ऋण प्राप्त गर्ने भएका छन् । 

नगरपालिकाले शैक्षिक कर्जा उपलब्ध गराउनका लागि आवश्यक निर्देशिका ‘परशुराम नगरपालिकाको प्राविधिक तथा ब्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०८१’ जारी गरेर राजपत्रमा प्रकाशित गरिसकेको छ । सोही निर्देशिकाअनुसार नगरपालिकाले नगर क्षेत्रमा स्थायी बसोवास भएका आदीवासी, दलित, महिला, पिछडिएको वर्ग, लोपोन्मूख जाती, घाइते, अपाङगता भएका व्यक्ति, शहिद परिवार, जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई प्राथमिकतामा राखेर प्राविधिक तथा व्यावसायिक शिक्षा आर्जनका लागि शैक्षिक प्रमाण पत्र धितो राखेर निब्र्याजी ऋण उपलब्ध गराउने प्रकृया सुरु भइसकेको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले उक्त शैक्षिक ऋण लिन इच्छुक विद्यार्थीका लागि केही सर्त राखेको छ । नगर क्षेत्रमै स्थायी बसोवास भएको हुनुपर्ने, नागरिकताको प्रमाणपत्र प्रतिलिपि बुझाउनुपर्ने, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको ट्रान्सक्रिप्ट, परिवारका दुई जना सदस्यहरुको मन्जुरीनामा पत्र, सम्बन्धित वडाको शैक्षिक ऋणका लागि गरिएको सिफारिस, विद्यार्थी भएको प्रमाणित हुने र अध्ययनरत तह वा कोर्सको जम्मा शैक्षिक शुल्क खुल्ने सम्बन्धित शैक्षिक संस्थाको पत्र लगायतका कागजात पेश गर्नुुपर्ने जारी सूचनामा उल्लेख गरिएको छ । 

नगरपालिकाले बिना व्याज शैक्षिक प्रमाणपत्र धितो राखेर अध्ययनका लागि ऋण दिने व्यवस्था गरेपछि आर्थिक अभावमा प्राविधि शिक्षा अध्ययन गर्न कठिनाई भोगिरहेका विद्यार्थीहरुलाई सहयोग पुुग्ने नगरपालिकाको भनाई छ । ‘नगरको भूगोल ठूलो छ, आर्थिक विपन्नता अत्यधिक छ, शैक्षिक जनशक्ति उत्पादन न्यून छ,’ परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशी भन्छन्, ‘जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर बिनाव्याज कर्जा उपलब्ध गराउने कार्यक्रम ल्याएका हौं ।’ 

एक परिवारबाट एक जनालाई मात्र उपलब्ध गराउने उक्त ऋण प्राप्त गर्ने विद्यार्थीले एकमुष्ट वा किस्ता किस्तामा फर्काउनुपर्ने नियम बनाइएको छ । किस्तामा ऋण भूक्तानी गर्न चाहने विद्यार्थीले आफू अध्ययनरत शैक्षिक कोर्षको अन्तिम परीक्षा दिएको एक वर्षभित्र ऋण रकमको २५ प्रतिशत, दुई वर्षभित्र पचास प्रतिशत, तीन वर्षभित्र ७५ प्रतिशत र चार वर्षभित्र सबै ऋण नगरपालिकालाई चुक्ता गर्नुपर्ने शर्त राखिएको छ ।