चुरेमा करिब १५ किलोमिटर सडक कालोपत्रे हुँदै
2025/01/05, 3:10
 
ss

सुदुरपश्चिम प्रदेशका दुई स्थानिय तहबाट प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम शुरु हुन लागेको छ । कैलाली र कञ्चनपुरका दुई स्थानिय तह जोड्ने सडक स्तरोन्नतीबाट कार्यक्रमको शुरुवात गरिन लागेको हो । बिश्व बैकंको श्रृण सहयोगमा कैलालीको चुरे गाउँपालिका र कञ्चनपुरको लालझाडी गाउँपालिका जोड्ने सडक स्तरोन्नतीको प्रक्रिया अगाडी बढाइएको छ । प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम कार्यान्वयन इकाइले आवश्यक प्रकृया पुरा गरी सम्बन्धित जिल्लाका पुर्वाधार बिकास कार्यालयहरुलाई कार्यान्वयनको जिम्मा दिने छ ।

बिश्व बैकंको श्रृण सहयोगमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत कैलालीको चुरे गाउँपालिका केन्द्र हुँदै निगालीसम्म सडक स्तरोन्नती हुन लागेको छ । चुरे गाउँपालिका सहजपुर देखी पालिका केन्द्र हुँदै निगालीसम्म सडक स्तरोन्नती हुन लागेको छ । सहजपुर देखी चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाई र त्यसपछि सिगंल लेन सडक कालोपत्रे हुने प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना ब्यवस्थापन इकाई धनगढीका प्रमुख जगत राज जोशीले बताए । चुरे गाउँपालिकामा सो कार्यक्रम अन्तरगत १४ दशमलव ८–५ किलोमिटर सडक स्तरोन्नती हुने उनको भनाई छ । यसका साथै कञ्चनपुरको लालझाडी गाउँपालिका केन्द्र जोड्न चानदेव बजार देखी १३ किलोमिटर सडक स्तरोन्नती हुने उनले बताएका छन् । सडक स्तरोन्नतीका लागी वातावरणिय र सामाजिक अध्यायन अन्तिम चरणमा रहेको छ । यसका साथै ठेक्का आवह्वान गरी सम्झौता प्रक्रिया समेत अन्तिम चरणमा रहेको छ । सडक क्षेत्रमा पर्ने रुख कटानका लागी आवश्यक प्रक्रिया शुरु गरेको बताउँदै प्रमुख जोशीले अबको दुई महिनाभित्र फिल्डमा काम शुरु हुने दावी गरे । सो सडक निर्माण सकेको ५ बर्षसम्म मर्मतपनि निर्माण कम्पनिलेनै गर्नुपर्ने गरी सम्झौता गरिन लागेको छ ।


प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम सुदुरपश्चिम प्रदेशमा १५ बर्ष सञ्चालन हुने छ । सो कार्यक्रम अन्तर्गत सुदुरपश्चिम प्रदेशमा पालिका केन्द्रसम्म समेत सडक नपुगेका स्थानिय तहमा सडक जोड्ने र स्तरोन्नती गरिने छ । जस अनुरुप पहिलो चरणमा कैलालीको चुरे र कञ्चनपुरको लालझाडीमा कार्यक्रम लागु भएको छ । चुरे गाउँपालिकाले सडक क्षेत्रभित्र पर्ने संरचना हटाउने अथवा स्थानिय सगं सहजिकरण गर्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष चक्र बोगटीले बताए । यस कार्यक्रममा स्थानिय तहले गर्नुपर्ने ५ प्रतिशत लगानीमा पालिकाले बजेट बिनियोजन गरेको बताउँदै उनले सामुदायिक बन र अन्य सरोकारवाला सगं समन्वय गरिरहेको दावी गरे । सबैभन्दा बढी काम प्रदेश सरकारकै रहेको बताउँदै अध्यक्ष बोगटीले पालिकाले गर्नुपर्ने काममा पछि नहट्ने स्पस्ट पारे ।


मुख्य राजमार्ग बाहेक कालोपत्रे सडक बिहिन रहेको चुरे गाउँपालिकामा सडक स्तरोन्नती हुने खबर सुनेपछि स्थानिय हर्षित छन् । कृषी तथा फलफुलको हब भनेर चिनिने चुरेमा पिच सडक पुगे यहाँको उत्पादित तरकारी तथा फलफुलले सहजै बजार पाउने चुरेका किसान राम बहादुर धामीले बताए । खै सडक बन्ने त सुनेको हुँ उनले भने “अहिलेसम्म केही शुरु भएको छैन, एदी सडक पिच बने हामी किसानहरुलाइ त सबैभन्दा बढी फाइदा हुने छ, हाम्रा सुन्तलाले उचित मुल्य पाउने छ, सबैलाई धेरै राम्रो हुन्छ ।”

स्थानिय नागरिक सडक कालोपत्रेको काम शुचारु हुने पर्खाइमा छन् । बिगतमा सडक बिना हिँडेरै दुई दिन लाएर पछि गाउँ जानुपरेको स्थानिय अटो चालक धन बहादुर धामी बताउछन् । त्यसपछि कच्ची सडक बनेपछि बर्खामा सधैँ दुख खेप्नुपरेको सुनाउँदै पिच सडक बने दुख खेप्नु नपर्ने बताउँछन् । सडक स्तरोन्नतीका लागी दिइएको समय दुई बर्षभित्रै काम सकिए यहाँका नागरिक आर्थिक रुपमा सबल बन्ने उनको अपेक्षा छ । सुगम जिल्ला कैलालीको दुर्गम पालिकाका रुपमा रहेकोे चुरे गाउँपालिकामा सडक स्तरोन्नतीको खबर सुनेपछि स्थानिय खुशी छन् । स्थानिय क्षेत्रमा उत्पादित तरकारी तथा फलफुलले बजार नपाइरहेका बेला सडक पिच भएपछि उचित मुल्य पाउने अपेक्षामा चुरेका बासिन्दा छन् ।