गोदावरी नगरपालिकासंग यौन तथा प्रजनन स्वास्थ्य अधिकार कानून हस्तान्तरण
2025/01/16, 7:00
 
dd

कैलालीको गोदावरी नगरपालिकासंग यौन तथा प्रजनन स्वास्थ्य अधिकार स्थानीय कानून हस्तान्तरण बैठक भएको छ । कैलालीको गोदावरी नगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि कानुन निर्माण गरेर नगर सभाबाट पारित गरिसकेको छ । विभिन्न संघ संस्थाको सहयोगमा नगरपालिकाले उक्त कानुन निर्माण गरेको हो । लामो समयको छलफल र बहसपछि कानुन निर्माण गरेको जनाएको छ । ‘गोदावरी नगरपालिका सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारी २०८१’ कानुन बनाउनेमा गोदावरी नगरपालिका देशकै पहिलो दावी गरिएको छ ।

तयार भएको कानुन बिहिबार एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर उपप्रमख शारदादेवी रोकाया र स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीलाई कानुनको ड्राप्ट हस्तान्तरण गरेको हो । हस्तान्तण कार्यक्रममा पालिकामा यौन तथा प्रजनन् स्वास्थ्यमा कानुन बन्दा महिला र किशोरीहरुलाई राहत हुने उप प्रमुख रोकायाले बताईन् ।

महिला, कानुन र विकास मञ्च, केयर नेपाल, सिआरआर र निड्स संस्थाको सहकार्यमा कानुन निर्माण भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । ऐन तयार पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ उनले यसले गर्दा नागरिकहरुलाई केहि सहज हुने विश्वास गरे । ‘थुप्रै ठाउँमा छलफल भएर कानुन निर्माण भएको छ’, उनले भने । ‘कर्मचारीहरुलाई पनि काम गर्न सहज हुनेछ ।’ पालिकाहरुमा थुप्रै मुद्धा, मामिला भईरहेको स्मरण गर्दै उनले कानुन भएमा सेवा दिन सहज हुने अपेक्षा गरे । यो कानुन निर्माण गर्दा प्रजनन् स्वास्थ्यका बारेमा ग्रामिण क्षेत्रमा पनि धेरै जानकार भएको उनले बताए ।

संविधानमा नै प्रजनन् अधिकारका बारेमा उल्लेख भए पनि त्यसको प्रभावकारीता नखदेखिएको अधिवक्ता सविन श्रेष्ठले बताए । पालिकालाई काम गर्नका लागि ऐन आवश्यक भएको भन्दै उनले सुदूरपश्चिममा यौन प्रजनन्मा कानुन बनाउने गोदावरी नगरपालिका पहिलो भएको बताए । ‘सुरक्षित मातृत्व र प्रजनन् अधिकारमा कानुन बनाउनेमा गोदावरी पहिलो भएको छ’, उनले भने । ‘अन्य पालिकाहरुले पनि यसको सिको गर्ने छन् ।’ हस्तान्तरण कार्यक्रमको सञ्चालन केयर नेपालमा कार्यरत कालिदास जोशीले गरेका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एंव प्रतिनिधि, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो ।