प्रताप चौधरीर / पहलमानपुर- कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मत सम्भारको माग गर्दै स्थानीयले प्रर्दशन गरेका छन । घोडाघोडी नगरपालिका वडा नम्वर ११ को सिसैया चौकमा भेला भएका स्थानीयले सडक मर्मत सम्भारको माग गर्दै प्रर्दशन गरेका हुन् ।
उनीहरुले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले मर्मत सम्भारको माग गर्दै दबाब मुलक कार्यक्रम सहित प्रर्दशन गरेका हुन । पहलमानपुर–लालबोझी सडक खण्ड हिलाम्य भएपछि स्थानीयले आवत जावतमा सास्ती भोग्नु परेको छ ।
अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन । नगरपालिकाले ग्रावेलका लागि भन्दै पाँच लाख बजेट बिनियोजन गरेको थियो भने कालोपत्रेका लागि ३० लाखको टेण्डर हुने चर्चा भएपनि कुनै प्रक्रिया अगाडी बढेको छैन ।
पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर मात्रै उक्त सडक कालोपत्रे भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले पनि सडकलाई चुनावी नारा बनाएका थिए । लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि भन्दै उनले बजेट समेत विनियोजन गरेका थिए तर सडकको भने दुर्दशा छ ।