आवतजावतमा समस्या हुन थालेपछि मर्मत सम्भारका लागि दबाब दिन संघर्ष समिति गठन
2020/07/10, 6:43
 
sadak

प्रताप चौधरी/पहलमानपुरः  कैलालीको पहलमानपुर–लालबोझी सडक खण्ड मर्मत सम्भारका लागि सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरिएको छ। स्थानीय विजयराज स्वारको संयोजकत्वमा २० सदस्यीय संघर्ष समिति गठन गरिएको हो। यसअघि आज दिउँसो सडक मर्मत सम्भारको माग गर्दै घोडाघोडी नगरपालिका वडा नम्वर ११ को सिसैया चौकमा प्रदर्शन गरिएको थियो।

उनीहरुले पहलमानपुर–लालबोझी सडक खण्डमा सवारी साधन चलाउन सकिने अवस्था नरहेकाले मर्मत सम्भारको माग गर्दै दबाब मुलक कार्यक्रम सहित प्रर्दशन गरेका थिए। पहलमानपुर–लालबोझी सडक खण्ड हिलाम्य भएपछि स्थानीयले आवत जावतमा सास्ती भोग्नुपरेको छ। अहिले मोटरसाईकल र साईकल बाहेकका सवारी साधन समेत सञ्चालन हुन सकेका छैनन्।

नगरपालिकाले ग्रावेलका लागि भन्दै पाँच लाख बजेट बिनियोजन गरेको थियो भने कालोपत्रेका लागि ३० लाखको टेण्डर हुने चर्चा भएपनि कुनै प्रक्रिया अगडि बढेको छैन्। पूर्वपश्चिम राजमार्गदेखि ५ सय मिटर मात्रै उक्त सडक कालोपत्रे भएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य गौरीशंकर चौधरीले पनि उक्त सडकलाई चुनावी नारा बनाएका थिए। लालबोझी–पहलमानपुर सडकका स्तरोन्नतिका लागि भन्दै उनले बजेट समेत बिनियोजन गरेका थिए तर सडकको भने दुर्दशा छ। सडक मर्मत सम्भारका लागि स्थानीय र प्रदेश सरकार लगायतका निकायलाई दबाब दिन संघर्ष समिति गठन गरिएको संयोजक स्वारले बताए।