
कञ्चनपुरको महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पुग्दै छ । १० साउन २०७५ देखि सम्पर्कविहीन भएकी निर्मला भोलिपल्ट अर्थात् ११ साउनमा घरनजिकैको उल्टाखामस्थित उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो ।

१० साउनमा घटनाको सात वर्ष पुग्दै छ । तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न अपराधी पत्ता लगाउन प्रहरी असफल छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा ६ सय ५५ जनासँग विस्तृत रूपमा सोधपुछ भएको थियो । घटनामा शंकास्पद मानिएका १ सय २४ जनाको डीएनए परीक्षणसमेत भयो । तर, कसैको डीएनए पनि मेल नखाएपछि निर्मला हत्या घटनाले प्रहरीको छवि नै धमिलिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक डीएसपी सागर बोहरा निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धान अहिले पनि भइरहेको बताउँछन् । ‘सो घटनाका लागि छुट्टै टोली परिचालन गरेर अनुसन्धान नभए पनि सूक्ष्म ढंगले काम भइरहेको छ,’ डीएसपी बोहराले भने, ‘घटनाबारे केही नयाँ जानकारी आयो भने टोली परिचालन हुन्छ । शंकास्पदसँग सोधपुछ हुन्छ ।’ प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआईजी डम्मरबहादुर विक पनि निर्मला घटनाको अनुसन्धानका लागि अहिले छुट्टै टोली नरहेको बताउँछन् । ‘प्रदेश र जिल्लाबाट छुट्टै टोली परिचालन गरिएको छैन,’ डीआईजी विकले भने, ‘केन्द्रबाटै घटनाको अनुसन्धान भइरहेको छ । यद्यपि प्रदेश र जिल्लाले पनि सूक्ष्म ढंगले काम भने गरिरहेका छन् ।’

पछिल्लोपटक घटनाको अनुसन्धानका लागि २०८१ चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको दुईसदस्यीय टोली महेन्द्रनगरमा पुगेको थियो । चैतमा दीपक थापा नेपाल प्रहरीको ३१औँ महानिरीक्षक बनेपछि उक्त टोली घटनाको अनुसन्धानका लागि परिचालन भएको थियो । तर, उक्त टोलीले पनि नयाँ क्लु फेला पार्न सकेन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक ९एआईजी० चन्द्रकुवेर खापुङ निर्मला घटनाको अनुसन्धान अहिले पनि सीआईबीले गरिरहेको बताउँछन् । ‘अपराध घटनामा अनुसन्धान नसक्दासम्म नतिजा शून्यजस्तै देखिन्छ,’ एआईजी खापुङले भने, ‘अनुसन्धान सकिएपछि शून्यबाट सिधै शतप्रतिशत पुग्ने हो । निर्मला घटनामा पनि अहिले प्रगति शून्यजस्तै छ । घटनाबारे मिडियालाई दिन केही नयाँ नभए पनि हामीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौँ ।’
भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया निर्मला १० साउन २०७५ मा साथीको घर गएकी थिइन् । त्यहाँबाट नफर्केपछि उनको खोजी सुरु भयो । भोलिपल्ट घरभन्दा १ किलोमिटर टाढा उखुबारीमा उनको शव फेला पर्यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गर्यो । स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन सुरु गरे । डीएनए म्याच नभएपछि विष्ट पनि छुटे । नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीमाथि लाग्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भयो ।
७ भदौमा गृह मन्त्रालयले तत्कालीन सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन टोली गठन गर्यो । उक्त टोलीले प्रहरीले प्रमाण नष्ट गरेको भन्दै सरकारलाई प्रतिवेदन बुझायो । प्रहरीले प्रमाण नष्ट गर्नुको कारणसहित अध्ययन गर्न एआईजी धिरु बस्न्यातको संयोजकत्वमा छानबिन टोली गठन गर्यो । उक्त टोलीको प्रतिवेदनअनुसार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई भविष्यमा अयोग्य नहुने गरी बर्खास्त गरियो । डीएसपी अंगुर जीसी र ज्ञानबहादुर सेठीलगायत छ जना प्रहरीलाई निलम्बन गरियो । विभागीय कारबाहीमार्फत बर्खास्त भएका तत्कालीन एसपी विष्टसहितका प्रहरीले अदालतबाट सफाइ पाए । सफाइपछि जागिरमा फर्किएका एसपी विष्ट एसएसपीमा बढुवा हुँदै अहिले सेवानिवृत्त भइसकेका छन् ।शिलापत्रबाट