३५ सयको कुखुरा चोर पत्ता लगाउनेलाई १० हजार पुरस्कार !
2020/07/11, 10:37
 
khor

चोरले हैरान पारेपछि कैलालीको जानकी गाउँपालिका वडा नम्बर ३ सुवर्णपुरका एक किसानले कुखुरा चोर पत्ता लगाउनेलाई १० हजार ईनाम दिने घोषणा गरेका छन् । जानकी गाउँपालिकाको वडा नम्बर ३ डुडेझारी–टीकापुर रोडमा पर्ने कनकेशरी चौधरीको घरको अाँगनैमै रहेको खोरबाट शुक्रबार राति १० वटा कुखुरा चोरी भएका छन् । आधा किलो तौल रहेका चोरिएका १० वटै कुखुराकोे बजार मूल्य ३ हजार ५ सय जति पर्छ । यहाँको बजारमा लोकल कुखुरा प्रति किलो ७ सयका दरले बिक्री हुने गरेको छ  तर पुरस्कार भने चोरिएका सबै कुखुराको बजार मूल्य भन्दा करिब तीन गुना बढी राखिएको छ ।

ती किसानले टीकापुरको स्थानीय रेडियो सामुदायिक रेडियो टीकापुर एफएममा सूचना दिदैं कालो छिर्रविरे रङका १० वटा लोकल कुखुरा चोरी भएकाले चोरीमा संलग्न व्यक्तिको सुईको पाउने व्यक्तिले दिएको सूचनाका आधारमा चोर प्रमाणित भएमा १० हजार रुपैया पुरस्कार दिइने’ भनिएको छ । ती किसानले सूचना प्रसारणका लागि थप शुल्क पनि तिरेका छन् । स्थानीय  चोरहरुबाट आजित ती किसानले ३ हजार ५ सयको कुखुरा चोरीका लागि कुखुराको मुल्यभन्दा तीन  गुना बढी ईनाम दिने भन्नुमा पटक पटक कुखुरा चोरी हुनु रहेको छ । 

‘पालेका कुखुरा पटक पटक चोरी भएका छन् । पोखरीमा पालेका माछा चोरी भइरहन्छन् ।’ किसान कनकेशरी चौधरीले भने– ‘इनाम दिने पैसाको कुरै रहेन साल सालै चोरले चोरी गर्ने र व्यवसाय गर्नै गाहे भएकाले यस्तो निर्णयमा पुग्नुपर्ने बाध्यता परेको हो ।’ रेडियोमा दिईएको सूचना भनिएको छ– ‘चोरको सुइको दिने व्यक्तिलाई इनामका साथै नाम पनि जीवनभर गोप्य राखिनेछ । सूचना दिने व्यक्तीले मोवाईल नम्बर ९८६३०३३०५४ मा सम्पर्क गर्नुहोला ।’

जानकी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रदिपकुमार शाह वडामा बेला बेला भैरहने चोरीले किसानहरु आजित भएको बताए । कनकेशरी चौधरीको कुखुरा चोरी भएकै राती नजिकैका गोपाल चौधरीका ३ वटा कुखुरा चोरी भएको पनि वडाध्यक्ष शाहले जानकारी दिए । ‘चोरी भएका बेला खोज्ने, छलफल गर्ने, प्रहरीलाई उजुरी दिने, गस्ती बढाइदिन आग्रह गरिरहेका छौं,’ वडाध्यक्ष शाहले भने, ‘चोरबारे प्रहरीलाई जाहेरी दिएपनि किटानी गर्न नसकिने हुनाले चोर पत्ता लागेका छैनन चोरी चलिरहेको छ किसान रोईरहेका छन् ।’