विश्व जनसंख्या दिवसको अवसरमा फुलवारी ज्येष्ठ नागरिक समितिको ज्येष्ठ नागरिका लागि बहुउद्देश्यी दिवा सेवा केन्द्र भवनको उद्घाटन तथा संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाको नव निर्मित दिवा सेवा केन्द र संस्थाको पहिलो साधारण सभाको एक समारोह वीच धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले उद्घटान गरे । दिवा सेवा केन्द्र भवन धनगढी उप महानगरपालिको अनुदान र संस्थाको कोषवाट गरी करिब १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको संस्थाका अध्यक्ष होमप्रसाद गौतमले बताए ।
ज्येष्ठ नागरिकहरुको विभिन्न सवालमा पैरवी गर्दै आईरहेको संस्था फुलवारी ज्येष्ठ नागरिक समितिले २०७१ सालदेखि ज्येष्ठ नागरिकहरुलाई संगठित गर्दै समुह परिचालन मार्फत विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ । सो संस्थाले ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक सम्मान, ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण, जाडोको समयमा चिसोका कारण अफ्ठेरोमा परेका ज्येष्ठ नागरिकलाइ कम्बल वितरण, गर्मीको समयमा झुल वितरण र ज्येष्ठ नागरिक मैत्री जीविकोपार्जनका लागि तालिमहरुको व्यवस्था गर्दै आएको छ । २०७१ सालदेखि अनौपचारिक समुहको रुपमा रहेको संस्था २०७५ साल औपचारिक रुपमा दर्ता भई आफ्ना गतिविधि गरिरहेको छ ।
विपद्को वेला ज्येष्ठ नागरिकहरुलाइ कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा विभिन्न खाले तालिम र जनचेतनामुलक कार्यक्रमहरु संस्थाले गर्दै आइरहेको संस्थाका सचिव भुमीनन्द ओझाले बताए । संस्थाले ज्येष्ठ नागरिकहरुको जीविकोपार्जनमा सहयोग पुर्याउन घुम्ती कोष परिचालन गरेको छ । हाल संस्थासंग ६ लाख भन्दा बढी रकम रहेको कुरा सचिव ओझाले वताए ।
भवन उद्घाटन तथा साधारण सभा कार्यक्रममा धनगढी उप महानगरपालिकाकी नगर उप प्रमुख सुशिला मिश्र भट्ट, धनगढी वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारी, फाया नेपालका निवर्तमान अध्यक्ष एवम् सामाजिक अभियन्ता शेरबहादुर बस्नेत लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष होमप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस गर्दै आगामी कार्यकालको लागि होमप्रसाद गौतमको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति समेत चयन गरिएको छ ।