सतबाँझमा स्वचालित मौसम उपकरण जडान गरी पूर्वसूचना प्रणालीको स्थापना
2020/07/12, 8:38
 
mausam

बैतडीको सतबाँझमा स्वचालित मौसम उपकरण जडान गरी पूर्वसूचना प्रणालीको स्थापना गरिएको छ।  सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा कृषि विकास निर्देशनालय डोटीको सहयोगमा उक्त उपकरण जडान गरिएकोे केन्द्रका कम्प्युटर अपरेटर गणेश भट्टले जानकारी दिए।

उपकरण जडान गरिएसँगै मौसम पूर्वानूमान गर्न सकिने, वर्षा कति हुने, तापक्रम कति छ भन्ने थाहा पाउन सकिने जनाइएको छ। केन्द्रमा फलफूलका बोटबिरुवा कति तापक्रममा कुन प्रजातिका उत्पादन तथा फलाउन सकिन्छ भनेर पनि सो उपकरण जडान पछि सहज हुने बताइएको छ। कति तापक्रममा कस्तो खाले बिरुवा उपयुक्त हुन्छ सोहीअनुसार बोटबिरुवा लगाइने केन्द्रले जनाएको छ।

निर्देशनालयको  २९ लाखको सहयोगमा उक्त उपकरणहरु जडान गरिएका केन्द्रका निमित्त प्रमुख डम्बरसिंह भाटले बताए। यस केन्द्रबाट हरेक १५ मिनेटमा मौसमी सूचना सङ्कलन गर्ने र सो सूचना इन्टरनेटको सहायताले हेर्न सकिने बताइएको छ।   विसं २०१९ मा स्थापना भएको बागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचित छ। केन्द्रमा हाल स्याउ, ओखर, खुर्पानी, जैतुनलगायत १३ किसिमका फलफूलका बिरुवा रोपिएका छन्। यसका साथै बिरुवा र तरकारी उत्पादनसमेत गर्ने गरिएको छ। 

सतबाँजमा दुई दशक अगाडि देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ। जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो। केन्द्रको २९ हेक्टर जमिनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारीखेती गरिँदै आएको छ।