ठगको एक गिरोहले लक डाउनको अबधिमा कैलालीका तीन जना हार्डवेयर व्यवसायीहरुबाट लाखौं रुपैयाको निर्माण सामग्री लगेर ठगेको छ ।नेपालगञ्ज घर बताउने दीपु मल्ल र गीता स्वाँरबाट कैलालीका हार्डवेयर व्यवसायीहरु ठगिएका हुन् । उनीहरुले कैलालीको गोदावरी र टीकापुरमा पुल निर्माणको काम भईरहेको भन्दै सो कार्यका लागि सिमेण्ट र सरिया लिएका थिए ।
असार ८ गते कैलालीको गौरीगंगा नगरपालिका– ३ झिलस्थित बसुन्धरा सप्लायर्सबाट ११ लाख ३३ हजार सात सय ९० लाख रुपैयाको सिमेण्ट र सरिया लिएर गएपछि उनीहरु सम्पर्क बिहिन भएका छन् । उनीहरुले टीकापुरमा पुल निर्माणका लागि भनेर चौमालाबाट लिएको निर्माण सामग्री काठमाण्डौ स्वयम्भुमा लगेर खसालेको खुलेको छ ।
त्यस्तै धनगढी चौराहास्थित चौधरी हार्डवेयर र अत्तरीयास्थित सीताशक्ति टेडर्सबाट गोदावरी–खानिडाँडा क्षेत्रमा भईरहेको निर्माणका लागि भन्दै लगेर काठमाण्डौं पु¥याएको ( छड ) भने समयमै सचेत हुदा दुबै व्यवसायी काठमाण्डौंबाट फिर्ता ल्याउन सफल भएका छन् । दुई जना व्ववसायी भने २० लाख रुपैया भन्दा ठगिनबाट जोगिएका छन् ।
यसरी ठगिए जोशी ?
असार ८ गते बिहान कैलालीको गौरीगंगा नगरपालिका– ३ झिलस्थित बसुन्धरा सप्लायर्समा एक महिला र एक पुरुष निर्माण सामग्री खरीदका लागि आए । अन्दाजी ४०/४२ वर्षका पुरुषले आफ्नो नाम दिपु मल्ल र उनका साथमा आएकी करीव ३६ वर्षकी महिलाले आफ्नो नाम गीता शाह बताएकी थिईन । उनीहरुले टीकापुरमा पुलको निर्माण भईरहेकोले निर्माण सामग्री खरीद गर्न आएको सप्लायर्सका सञ्चालक नृप जोशीलाई बताए । जोशीसंग उनीहरुको सरिया र सिमेण्टको दररेट सोधे । र फर्के । दररेट चित्त बुझेको भन्दै दिउसो १२ बजे उनीहरु ट्रक ल्याएर आए । उनीहरुले सबै निर्माण सामग्रीमा नगदमा लैजाने भन्दै ट्रकमा निर्माण सामग्री लोड गर्न लगाए । सामान लोड गर्दा साँझ परिसकेको थियो । उनीहरुले साँझ परेपछि भने सामानको रकम १० लाख भन्दा बढि भएकोले चेक दिने बताए । प्रभु बैंकमा राजु श्रेष्ठका नाममा रहेको खाताको चेक काटेर उनीहरुले जोशीलाई दिएका थिए ।
महिलाले त्यो चेक आफ्नो बुवाको भएको र बुवा घाईते भएर टिचिङमा भर्ना भएको बताएकी थिईन । आफ्नो बुवा ईञ्जिनियर भएको र ठेक्काको काम पनि गर्ने भएको बताएकी ती महिलाले टीकापुरको पुलको ठेक्का पनि बुवाको फर्मले पाएको बताएकी थिईन । बुवा घाईते भएकोले आफूले त्यो निर्माण हेरिरहेको बताएकी थिईन । उनीहरु राति नै ट्रकमा सामान लोड गरेर हिडे ।
भोलिपल्ट शुक्रवार जोशी चेक साट्न बैंक पुगे । खातामा पैसा थिएन । खातामा पैसा नभएको भन्दै जोशीले मल्ल र स्वाँरलाई फोन गरे । मल्लले मेडम काममा बिजी भएको र खातामा पैसा जम्मा भईसकेकोले आईतवार साट्न जान सुझाव दिए । शनिवार फेरि मल्लले फोन गरी निर्माण सामग्री थप आवश्यक परेको भन्दै जोशीलाई फोन गरे । तर जोशीले शनिवार पसल बन्द भएको भन्दै दिन नसकिने बताए ।
आईतवार उनी फेरि बैंक गए । खातामा फेरि पनि रकम जम्मा भएको थिएन । त्यसपछि जोशीलाई शंका लाग्यो । उनले ट्रकको चालकलाई सामान कहाँ खसालेको भन्दै फोन गरे । चालकले काठमाण्डौं बालाजु खसालेको बताएपछि भने जोशीले आफू ठगिएको महशुस गरे । तत्कालै उनले सामान खसालेको ठेगानामा प्रहरी र आफन्तलाई पठाए । त्यतिबेलासम्म त्यहाँबाट पनि सामान उठाईसकिएको थियो । त्यसदिन यता जोशी निरन्तर प्रहरी कार्यालयमा धाईरहेका छन् । तर ठगिएको १९ दिन बित्दा पनि प्रहरीले ठगी गर्ने महिला र पुरुषलाई पक्राउ गर्न सकेको छैन ।
ठगहरुबाट यसरी सामान फिर्ता ल्याउन सफल भए चौधरी र कार्की
असार ७ गते कैलालीको गोदावरी नगरपालिकाको अत्तरीया बजारस्थित सीताशक्ति टे«डर्समा एक महिला र एक पुरुष निर्माण सामग्री खरीदका लागि आए । उनीहरुले गोदावरी–खानीडाडा क्षेत्रमा निर्माण भईरहेको भन्दै सिमेण्ट र सरियाको दररेट सोधे । महिलाले गीता स्वाँर र पुरुषले दीपु मल्लका नामबाट आफ्नो परिचय दिएका थिए । उनीहरुले आफूहरु पीटी ठेकेदार बताएका थिए । सामानको दररेटमा कुरा मिलेपछि उनीहरुले साँझ १२ क्वीन्टल सरिया ट्रकमा लोड गरे । सामान मूल्य बराबर १० लाख रुपैयाको चेक सीताशक्ति टेडर्सका सञ्चालक नैन सिंह कार्कीलाई दिए । र उनीहरु त्यहाँबाट निस्के ।
भोलिपल्ट चेक साट्नजादा साटिएन । चेक दिने मल्ल र स्वाँर पनि सम्पर्क बिहिन भए । कार्कीलाई त्यसपछि भने शंका लाग्यो । उनले ९ गते भाई र एक जना कर्मचारीलाई बुढीतोला,खानीडाडा क्षेत्रमा निर्माण हेर्न पठाए । त्यहाँ कही कतै निर्माण भईरहेको थिएन । जोशीले ट्रक चालकलाई फोन गरे । चालकले पनि शुरुमा सही ठेगाना भन्न आनकानी गरे । प्रहरीमा उजुरी गरेर पक्राउ गर्ने बताएपछि चालकले काठमाण्डौं पुगेको बताए । चालकले दिएको ठेगानामा कार्कीले तत्काल आफन्त पठाए । ट्रक भेटियो । र सामान पनि । यसरी धनगढीबाट गोदावरीका लागि भनेर लगेको निर्माण सामग्री दुई दिनपछि असार ९ गते काठमाण्डौंको रत्न पार्कमा भेटियो । उनीहरु त्यो सामग्री बालाजुमा खसाल्न लैजादै थिए ।
त्यसमा २१ क्विन्टल सरिया थियो । १२ क्वीन्टल सामग्री जोशीको थियो भने ७ लाख ४४ हजार रुपैया बराबरको नौ क्वीन्टल सरिया धनगढी चौराहास्थित चौधरी हार्डवेयरबाट उनीहरुले लगेका थिए । असार ७ गते नै मल्ल र स्वाँरले धनगढीस्थित चौधरी हार्डवेयरबाट नौ क्वीन्टल सरिया लगेका थिए । उनीहरुले अत्तरीया र धनगढीबाट बाँकेको ईमिलियासम्म छुट्टा छुट्टै ट्रकमा लगेका थिए । चौधरी हार्डवेयरबाट लगेको सामान ईमिलियामा झारे । अत्तरीयाबाट सामान ल्याएको गाडीमा चौधरी हार्डवेयरको सामान समेत लोड गरेर काठमाण्डौं पु¥याएका थिए ।
चौधरी र कार्कीले आफूहरु ठगिएको कुरा असार ९ गते प्रहरीमा जादा थाह पाएका थिए । पछि दुबै जनाले संयुक्त रुपमा खोजी गर्दा त्यही दिन काठमाण्डौंबाट सामान सहितको ट्रक हात पार्न सफल मात्र भएनन । दुबै जना १७ लाख ४४ हजार रुपैया ठगिन समेत जोगिए । समयमै सचेत भएर खोजी गरेकोले हामीले आफ्नो सामान पायौ, चौधरी हार्डवेयरका सञ्चालक जय प्रकाश चौधरी र सीताशक्ति टे«डर्सका सञ्चालक कार्कीले भने, थप एक दिन ढिलो भएको हाम्रो सामान मिल्ने नै थिएन ।
ठगहरु पक्राउ गर्न प्रहरीको आनाकानी
पीडित व्यवसायीहरुले ठगहरुको गिरोहलाई पक्राउ गर्न आनकानी गरेको आरोप लगाएका छन् । हामीले ठगी गर्नेहरुका बिरुद्ध सबै प्रमाण सहित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिईसकेका छौ, पटक पटक प्रहरी कार्यालयमा पुगेर जानकारी पनि दियौ, पीडित नृप जोशीले पश्चिम टुडेसंग भने, प्रहरीले हाम्रा कुरा नै सुनि दिदैन । उनले आईतवार जिल्ला प्रहरी कार्यालयमा पाँच बजेसम्म बस्दा पनि प्रहरीले कुनै चासो नदिएको गुनासो गरे ।
ठगहरुले प्रयोग गर्ने मोवाईल, उनीहरुको तस्वीर, उनीहरुको ठेगाना, उनीहरुले दिएको चेक, उनीहरुको गाडी लगायत सबै विषयमा प्रहरीलाई जानकारी दिएको पीडितहरुले बताएका छन् । पीडित जोशीले भने, यतिधेरै जानकारी दिदा पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न वेवास्ता गरेको छ ।
उनीहरु काठमाण्डौंमा रहेको जानकारी पाएपछि पीडितहरुले काठमाण्डौं स्वयम्भु स्थित प्रहरी कार्यालयलाई पनि पक्राउका लागि आग्रह गरेका थिए । तर त्यहाँको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको पत्र नआई पक्राउ गर्न नसकिने बताएको पीडितले गुनासो गरे । जिल्ला प्रहरी कार्यालयको पत्र नआई काठमाण्डौंको प्रहरीले पक्राउ गर्न सकिदैन भन्ने जवाफ दियो, जोशीले भने, जिल्ला प्रहरी कार्यालयले पत्र नै पठाई दिदैन ।
उनले हिजो पनि जिल्ला प्रहरी कार्यालयमा डिएसपी र एसपीलाई भेटेर ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गर्न आग्रह गरेको बताए । यसअघि कैलाली हार्डवेयर व्यवसायी संघका अध्यक्ष सुरेन्द्र राठी लगायतको टीमले पनि जिल्ला प्रहरी कार्यालयमै पुगेर ठगहरुलाई पक्राउ गर्न आग्रह गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले ठगी गर्नेहरुका बारेमा अनुसन्धान भईरहेको बताए । हामीले अनुसन्धान गरिरहेका छौ, डिएसपी बिष्टले पश्चिम टुडेसंगलाई भने , चाडै उनीहरुलाई नियन्त्रणमा लिनेछौ ।
गृह मन्त्रालयको पासको दुरुपयोग
सामान्य मान्छेलाई एक ठाउँबाट अर्को ठाउँ जानु परेमा थुप्रै अडचनहरु छन् । गृह मन्त्रालयको पास बिना सवारी साधन एक ठाउँबाट अर्को ठाउँ लैजान पाईदैन । र त्यो पास पनि काम विशेषले निश्चित अबधिका लागि मात्र हुन्छ । र पास बिना त एक जिल्लाबाट अर्को जिल्ला जान संभव नै छैन । तर ठगी गर्ने गिरोहले प्रयोग गरेको बा १४ च ६०५३ नम्बरको स्कारपियो भने बरोकटोक एक जिल्लाबाट अर्को जिल्ला गएको पाईएको छ ।
अझ काठमाण्डौं उपत्यका भित्र प्रवेश गर्न त वडा कार्यालयसम्मको सिफारिस अनिवार्य गरिएको छ । र पासको अबधि सकिए नयाँ पास लिनु पर्छ । तर उनीहरुलाई भने न त काठमाण्डौं जान कुनै समस्या भएको देखिएको छ । न त उपत्यकाबाट बाहिर आउन । उनीहरुले गृह मन्त्रालयको पासको दुरुपयोग गर्दै गाडीको प्रयोग मात्र गरेनन । त्यही गाडीको प्रयोग गरेर उनीहरु कैलालीका हार्डवेयर व्यवसायीहरुलाई लाखौ रुपैया ठगी गरेर सजिलै उम्किन सफल भए ।