कैलालीको घोडाघोडीमा निर्माण सम्पन्न भनिएको सडक अधुरै रहेको छ । निर्माण पूरा नहुँदै सम्पन्न भएको रिपोर्ट सार्वजनिक भएपछि सोमबार अनुगमनका लागि नगरपालिका बाट गएको टोलीले सडक अधुरै रहेको निष्कर्ष निकालेको छ ।
घोडाघोडी नगरपालिकाबाट इन्जिनियर र प्राविधिक सहितको टोलीले स्थलगत अनुगमन गर्दै मापदण्ड अनुसार काम नभएको जनाएको छ । दुवै तर्फ नाला निर्माण गर्नु पर्नेमा ५० मिटर मात्रै नाला निर्माण गरिएको, लम्बाई २ सय ५० मिटर हुनुपर्नेमा २ सय ४० मिटर मात्रै बनाइएको र चौडाइ पनि मापदण्ड अनुसार नभएको पाइएको नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले जानकारी दिए ।
मापदण्ड अनुसार काम नभएको भन्दै अनुगमन टोलीले तत्काल मापदण्ड अनुसार काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दै सडकको निर्माण कार्य सम्पन्न भएको घोषणा गरेको थियो ।