कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो, देशमै बढी संक्रमित रहेको दोस्रो जिल्ला
2020/07/13, 6:33
 
corona

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ। धनगढी परीक्षणमा सोमबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै कैलालीमा संक्रमितको संख्या एक हजार ६ जना पुगेको मन्त्रालयले जनाएको छ।

आईतवार साँझ प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जिल्लामा संक्रमितको संख्या नौँ सय ९६ पुगेको बताएका थिए। आज १० जनामा पुष्टि भएपछि संक्रमितको संख्या एक हजार ६ पुगेको हो। कैलालीमा सबैभन्दा बढी गोदावरी नगरपालिकामा संक्रमितको संख्या दुई सय ६१ जना छ। संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भने कैलालीमा कोरोना संक्रमितको संख्या नौँ सय २२ मात्रै पुगेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्याङक पनि सामाजिक विकास मन्त्रालय र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग मेल खाएको छैन्। कार्यालयका प्रमुख लालवहादुर धामीका अनुसार जिल्लामा संक्रमितका संख्या नौ सय दुई पुगेको छ। तीन निकायको फरकफरक तथ्याङकले जिल्लामा संक्रमितको वास्तविक संख्यामा नै अन्यौलता भएको छ। नेपालमा रहको ७७ जिल्ला मध्ये रौतहटपछि कैलालीमा बढि संक्रमित रहेका छन्।