आफु बैंकको कर्मचारी भएको भन्दै कमिशन दिए ऋण स्वीकृत गरिदिने भनेर ठगी गरेको आरोपमा पक्राउ परेका दुई जनालाई ठगी मुद्धा चलाएर अनुसन्धान अघि वढेको छ । बैंकका कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेका दार्चुलाको लेकम गाउँपालिका १ का ३२ बर्षीय पदमराज भट्ट र डोटीको आदर्श गाउँपालिका वडा नम्बर ३ घर भई सिलगढीमा डेरा गरी बस्ने ३५ बर्षीया सन्जा कुमारी कठायतलाई मुद्धा चलाएर अनुसन्धान अघि वढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु विरुद्ध ठगी शिर्षकमा मुद्धा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ । उनीहरुलाई डोटी जिल्लाको पिपल्लाबाट पक्राउ गरिएको थियोे । नेपाल बैंक लिमिटेडमा शाखा अधिकृतको रुपमा कार्यरत रहेको भन्दै टीकापुर नगरपालिका वडा नम्बर १ की एक महिलासँग १० लाख रुपैयाँ दिएमा ३ करोड ५० लाख ऋण स्वीकृत गरिदिन्छु भनेर ठगी गरेको प्रहरीले जनाएको छ । ती महिलाले शंका लागेर प्रहरीमा उजुरी गरेपछि प्रहरीले अनुसन्धान गरेर ती दुवै जनालाई पक्राउ गरेको हो ।
धनगढी वडा नम्बर ५ मा घर भएको परिचय दिने भट्टको साथबाट नेपाल बैंक लिमिटेडको नक्कली परिचय पत्र, विभिन्न बैंक तथा आइएमईका भौचर समेत प्रहरीले बरामद गरेको छ । भट्टले आमा बुवा भुकम्पमा परेर मरेका र बैंकको शाखा प्रवन्धकको परिचय दिंदै जागीर लगाइदिने भनेर फेसबुक, फोन मार्फत परिचय गरी ठगी गरेको प्रहरीले जनाएको छ । भट्ट यसअघि पनि अपहरण तथा जबरजस्ती चोरीम मुद्धा चलेर पुर्पक्षका लागि कारागार गएर धरौटीमा छुटेका व्यक्ती रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।