पछिल्ला केही दिनयता यातायात व्यवस्था कार्यालयमा थामी नसक्नु भिड लाग्न थालेपछि कोरोना फैलिने खतरा वढेको छ । कोरोना त्रासका बिच कर बुझाउन यातायात कार्यालयमा सामाजिक दुरी कायम गर्ने त कुरै छोडौं ठेलमठेल गरेर सेवाग्राहीको दैनिक रुपमा भिड लागेको हो । सामाजिक दुरी मात्रै होईन कतिपय सेवाग्राहीहरु मास्क समेत नलगाएर लाईन लाग्दा डर लाग्ने गरेको गेटाका दिपेन्द्र पालले बताए ।
कोरोना प्रभावपछि जारी लकडाउनको अवधिको कर समेत यसै आर्थिक वर्षभित्र बुझाउनुपर्ने भएका कारण केहि दिन यता कार्यलयमा भिडभाड बढेको छ । असार मसान्तसम्म कर बुझाउन नसके जरिवाना समेत तिर्नु भएका कारण अहिले भिडभाड बढेको हो । तर सुदूरपश्चिम प्रदेश सरकारकै मातहत रहेको यातायात व्यवस्था कार्यालय कैलालीले सेवा प्रवाहलाई व्यवस्थीत बनाउन लापरवाही गरेको गुनासो सेवाग्राहीको छ । ‘सरोकारवाला निकायको बेवास्ताका कारण अव्यवस्थित रुपमा नै कर बुझाउनुपर्ने बाध्यता छ’, धनगढी उप–महानगरपालिकाका वडा नम्बर ३ का प्रेम पाण्डेयले भने ‘सरकारलाई कर बुझाउन बिहान ६ बजेदेखि लाइन बस्नु पर्ने यो कस्तो व्यवस्थापन हो ।’
कोरोना नियन्त्रणका लागि विदेशका नितिहरु अपनाईदै आएकोमा सवारी कर तिर्न तर्फ भने सरकारको ध्यान गएको छैन् । विदेशमा सवै कर अनलाईन गरेकोमा अवस्था सरकारी कार्यालयहरुमै सयौं जनाको भिड लाग्दा यसले कोरोना संक्रमित वढ्ने खतरा रहेको धनगढी ४ का टेक पन्तले बताए । भारतबाट आएका ९० संक्रमित भएको र उनीहरुको सम्पर्कमा आएकाहरु कोरोना संक्रमित भएकोले सेवाग्राहीको भिडले कोरोना संक्रमित वढाउने खतरा बढेको उनको भनाई छ ।
यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने असार मसान्तभित्र कर बुझाउनेलाई जरिवाना नलाग्ने भएका कारण भिड बढेको बताए । ‘यो महिनाभित्र यस्तै भिड हुन्छ । हामीले आफ्नो तर्फबाट गर्ने व्यवस्थापन गरिरहेका छौं’ उनले भने । आर्थिक वर्षको अन्त्यमा सवारी कर बुझाउनुपर्ने, नविकरण गर्नुपर्ने, सवारी साधन नामसारी गर्नुपर्ने लगायतका विभिन्न कामले सेवाग्राहीहरु यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन । तर बैंक काउण्टरको अभाव, व्यवस्थापनमा आनाकानीका कारण सेवाप्रवाहमा ढिलासुस्ती मात्रै भएको छैन् । कार्यालयमा लागेको अत्यधिक भिडभाडले कोरोना भाइरसको जोखिम समेत बढेको छ ।