सुदूरपश्चिमका क्वारेन्टिनबाट एक महिनामा ६० हजार घर फर्किए
2020/07/14, 7:33
 
quarentine

सुदूरपश्चिमका क्वारेन्टिनबाट एक महिनामा ६० हजार घर फर्किएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार एक महिनाको अवधिमा ६० हजार जना क्वारेन्टिनबाट घर फर्किएका छन् । भारतसँग धेरै रोजगारीको साईनो जोडिएकाले सुरुआतदेखि नै सुदूरपश्चिम संक्रमणको उच्च जोखिममा थियो । सुरुआतका ती समयमा त प्रदेशले भारतबाट आउनेहरूको व्यवस्थापनलाई थेग्नै सकेन ।

एउटा नाकाबाट मात्र दैनिक ४ हजारसम्म मानिस भारतबाट आएपछि प्रदेशले उनीहरूलाई परीक्षण बिनै सम्बन्धित जिल्लाहरु पठाएको थियो । त्यसरी आएका व्यक्तीहरूलाई सम्बन्धित जिल्लाहरूको क्वारेन्टिनमा राखेपनि उनीहरूलाई राम्रो व्यवस्थापन गर्न सकिएन । खानपिन र बासस्थानको समेत राम्रो प्रबन्ध गर्न सकिएन । क्वारेन्टिनमा रहेकाहरू सबैको पिसिआर परीक्षण गर्न सकिएन । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार चैत महिनायता ३ लाख बढी मानिस भारतबाट आएका छन् । जेठ २७ गते क्वारेन्टिनमा त्यो संख्या ६६ हजारमा झरेको थियो । अहिले भने ६ हजार व्यक्ती क्वारेन्टिनमा छन् र उनीहरू सबै भारतबाट आएको स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले बताए । 

क्वारेन्टिनमा बस्नेको संख्या कम संख्यामा झरेपछि सुदूपश्चिम प्रदेशले समुदायस्तरमा गएर कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थीले अबको १५ दिनमा समुदायमा गएर परीक्षण सुरु गरिने बताए । उनले अहिले क्वारेन्टिनमा ६ हजार १ सय ९१ जना रहेको र विस्तारै त्यो संख्या अझ कम हुने जनाउँदै समुदायमै गएर परीक्षण गर्ने तयारी भएको बताए । समुदायमा परीक्षण गर्दा केही प्रोटोकल निर्धारण गरिएको उनको भनाई छ ।

डाक्टर अवस्थीले भने, ’हामीले समुदायको परिक्षण गर्दा सुरुमा संक्रमित व्यक्तीहरूको परिवारका सदस्यहरूको गर्छौ । त्यसपछि बढी संक्रमित भएका जिल्लाहरूलाई बढी फोकस गर्छौ ।’ उनले कैलालीमा सर्वाधिक एक हजार बढी संक्रमित रहेको भन्दै त्यहाँ पनि कुन पालिकामा बढी संक्रमित छन् सोही अनुसार परीक्षणको नीति तय गरिने जनाए । त्यसपछि ५ सय बढी संक्रमित भएका जिल्लाहरूको समुदायमा परीक्षण गर्ने प्रदेशको रणनीति छ ।

अहिलेसम्म प्रदेशमा २७ हजार ३ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ भने १ लाख १८ हजार २ सय ९२ जनाको आरडिटी परीक्षण गरिएको छ । प्रदेशभर संक्रमितको संख्या ३ हजार ७ सय ८३ छ । जसमा ’एक्टिभ केस’ २ हजार २ सय ६३ जना छन् । यस्तै १ हजार ५ सय १३ जना निको भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।