सलहको झुण्ड देखिएको क्षेत्रमा कृषि प्राविधिकको टोली
2020/07/17, 2:16
 
salah

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा सलहको झुन्ड प्रवेश छ । ठुलो संख्यामा सलहको झुण्ड देखा परेपछि सो क्षेत्रमा कृषि ज्ञान केन्द्र कञ्चनपुरको टोली खटिएको जनाएको छ । ठुलो मात्रामा सलहको झुण्ड देखिएपछि यहाँका किसानमा त्रास छाएको छ । पुनर्वास नगरपालिका १० का स्थानीय गुरुप्रसाद चौधरीले सलह किरा प्रवेश गरेपछि आफूहरू त्रासमा बसेको बताउँदै यसमा सरकारले बेलमै यसबारे पहल चाल्नुपर्ने बताए ।

2

भारतको दुधवा नेशनल पार्क हुँदै पुनर्वास १० मा सलहको ठुलो झुन्ड भित्रिएको अनुमान गरिएको छ । यसरी गाउँमै सलह पसेपछि वर्षभरिको लागी खानको लागी रोपेको धान सखाप गर्न सक्ने अर्विना रानाले बताइन् । उनले स्थानीयवासीको मद्धतले केही मात्रामा भए पनि धपाउन सफल भएको बताईन । यस्तै अर्का किसान रामसे रानाले भने आफूहरूले देख्ने बितिक्कै थालहरू बजाएर केही थपाएको बाकी अझै रहेकाले सबै मिलेर धपाउने कार्य गरिरहेको उनले बताए । उनका अनुसार केही बथान फेरि भारत तिर फर्केको छ भने केही बथान कञ्चनपुरको लालझाडी गाँउपालिकातिर गएको बताए ।

3

सलहको समूह हाल सो स्थानबाट पश्चिमी दिशातर्फ अगाडि बढेको सूचना प्राप्त भएकोले सबै कृषक तथा आम सर्वसाधारणलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत अनुरोध गरेको छ । यस अघि स–सानो झुन्ड टुक्रिएर सलह किरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो ।