खानेपानी विवादमा नाबालक हत्या प्रकरणः थप ७ अभियुक्त पक्राउ
2020/07/18, 8:52
 
hatya

डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा विवाद हुँदा बालकको हत्या भएपछि  प्रहरीले अनुसन्धान कार्यलाई तिव्रता दिएको छ । प्रहरीले शनिबार नाबालक हत्याका थप ७ अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आलिताल गाउँपालिका –६ का १९ वर्षीय लाले भन्ने लालबहादुर खड्का, ४८ वर्षीय पम्फा ओली, २९ वर्षीय अमृता ओली, ४८ वर्षीय कलु खड्का, ३० वर्षीय रिमा ओली, १९ वर्षीय तुल्सी ओली र ३१ वर्षीय पवित्रा ओली रहेका छन् । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानले बताए । 

यस अघि प्रहरीले ३० वर्षीय टिकाराम ओली, ५५ वर्षी निरु भन्ने निर बहादुर ओली, १९ वर्षीय भिम बहादुर खड्का र ३३ वर्षीय हरीकृष्ण भाटलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी गणेश महराका ७ वर्षीय छोरा हिमान्सु महराको मुत्यु भएको थियो । झडपका बेला उनको मुखमा ढुङ्गाले चोट लागेको थियो । घटनापछि घाइते भएका उनको उपचारका क्रममा २७ गते बिहान कैलालीको सारथी अस्पतालमा मृत्यु भएको थियो ।