बझाङमा यार्सा टिप्न रोक लगाएपछि बाँझो जमीन खन्दै
2020/05/14, 6:21
 
jamin

बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी  लगाउन थालेका छन्। यो सिजनमा यार्सा टिप्न लेकतिर जाने यहाँका स्थानीयवासीले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यार्सा टिप्न रोक लगाएपछि बाँझो राखिएका जमिन खनजोत गरेर अन्नबालीका साथै तरकारी लगाउन थालेका हुन्।

जिल्लाको हिमाली क्षेत्रमा यार्सा सङ्कलन गर्न लागेको झण्डै दुई दशक भयो। यार्सा सङ्कलनबाट मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखो जमिनमा अन्न तथा तरकारी लगाउन छाडेका थिए। सुर्मा गाउँपालिकाका वडा नं ३ का स्थानीय ५५ वर्षीय तिख्या बोहराले भने “यहाँका स्थानीयवासीका पैसा कमाउने माध्यम भनेको यार्सा नै हो। अहिले देशमा यस्तो सङ्कट भएकाले यार्सा टिप्न गाउँपालिकाले रोक लगाएपछि आफूहरुले लामो समयदेखि बाँझो जमिन खनजोत गर्ने थालेको बोहराले बताए। 

गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दा यतिखेर कृषि कार्यमा व्यस्त भएका छन्। वैशाखको पहिलो सातादेखि स्कूले विद्यार्थीदेखि सबै यार्सा टिप्न लेकतिर जाने गर्दथे। अहिले कृषि कार्यमा सबै बाँझो जमिन  खनजोत गरेर कसैले आलु, कोदो, सिमी तथा फलफूल रोप्न जुटेका छन्।

सुर्मा गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले भने, “सरकारले लकडाउनको घोषणा गरेकाले गाउँपालिकाभित्र पनि यार्सा सङ्कलन गर्दा भीडभाड हुने भएकाले यार्सा सङ्कलन कार्य बन्द गरिएको छ। त्यसैगरी जिल्लाका अन्य गाउँपालिकाका स्थानीयवासी पनि पुरानो जमिन खनजोत गर्न जुटेका छन्।” -रासस