भारतको बम्बैबाट फर्केका धनगढी उपमहानगरपालिका–२, सन्तोषी टोलका दलबहादुर सोव सिधै घर नगएर क्वारेन्टिनमा बस्न खोजे । चार दिन अघि धनगढी पुगेका उनी वडा कार्यालयले क्वारेन्टाइन बनाएको स्थानीय शारदा माविमा पुगे तर उनले त्यहाँ बस्न पाएनन् । विद्यालयका कार्यालय सहयोगीले क्वारेन्टिन बन्द गरिएको भनेपछि उनी घर गए ।
‘जताततै कोरोनाको त्रास रहेकाले क्वारेन्टिनमा बसेर चेकजाँच गरेपछि मात्रै घर जाऔँला भन्ने सोँचेको थिएँ । क्वारेन्टिन पुग्दा बन्द भइसकेको भनेर फर्काइयो ।’ उनले भने, ‘जनप्रतिनिधिले घरमा गए पनि हुन्छ भनेपछि अहिले घरमै बसिरहेको छु ।’ वडा सदस्यले ‘ क्वारेन्टिनमा नबसे पनि हुन्छ, घरमा अलगै बस्नु’ भनेको दलबहादुरले बताए ।
बम्बैमा एक डाईमण्ड कम्पनीमा काम गर्दै आएका उनी लकडाउनका कारण कम्पनी बन्द भएर बेरोजगार भएपछि घर फर्केका हुन् । धनगढी–१, का अर्जुन बिसी स्थानीय त्रिनगर माविको क्वारेन्टिनमा बसेको दोस्रो दिनमै गत साता घर फर्के । ‘हेडसरले साउन १ गतेदेखि स्कूलमा कसैलाई पनि नराख्ने भन्नुभो । वडाध्ययक्षलाई फोन गरेर सोध्दा क्वारेन्टिनमा नबसे पनि हुन्छ, घरमा होम क्वारेन्टिनमा बस्नु भन्नुभो ।’ बिसीले भने, ‘एउटै वडाका छ जना भारतबाट सँगै आएका थियाँै, क्वारेन्टिनमा बस्न नपाईने भनेपछि दोस्रो दिन घर फक्र्यौँ ।’ दुई दिनसम्म क्वारेन्टिनमा बसेकोका बुझ्न उपमहानगरबाट कोही पनि नआएको र सुत्ने कोठामा बत्ती समेत नरहेको उनले बताए ।
भारतबाट फर्केर खुलेयाम हिँड्डुल गर्न थालेका छन् । सरकारले विदेशबाट फर्केकाले १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । धनगढी उपमहानगरपालिकाले भने भारतबाट फर्केकालाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउन थालेको छ । उनीहरुको स्वास्थ्य जाँच पनि हुने गरेको छैन । स्वदेश फर्केकालाई सिधै घर पठाउन थालेपछि धनगढीमा रहेका दर्जन बढी क्वारेन्टिन अहिले रित्तिएका छन् । भारतबाट दैनिक जसो फर्कने गरे पनि अहिले धनगढीका क्वारेन्टिनहरुमा एक जना छैनन् ।
उपमहानगरको कोरोना व्यवस्थापन उपसमितिले १ साउनबाट भारतबाट फर्केकालाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने निर्णय गरेको हो । घरमा सबैले पूर्ण सावधानी अपनाउन नसक्ने अवस्था हुने भएकाले क्वारेन्टिनमा नराखेर घर पठाउँदा समुदायमा संक्रमण फैलने जोखिम बढ्ने स्वास्थ्यकर्मीले बताएका छन् । ‘ क्वारेन्टिनहरु किन बनाइएका हुन् यसको महत्व के हो ? सबैले बुझ्नु पर्छ ।’ प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले भने, ‘यद्यपि भारतबाट फर्केकालाई कसरी व्यवस्थापन गर्ने त्यो स्थानीय सरकारको अधिकारको कुरा हो ।’ संक्रमण फैलन नदिन सबै सचेत हुनुपर्ने र सतर्कता अपनाउनु पर्ने उनले बताए ।
होम क्वारेन्टिनमा छुट्टै बस्ने, शौचालय, सामान आदि छुट्टै प्रयोग गर्न सकिएन भने जोखिम बढ्ने उनले बताए । भारतबाट फर्केपछि क्वारेन्टिनमा नराखेर घर पठाइएकाहरु टोलछिमेकमा खुलेयाम हिँड्डुल गर्न थालेपछि संक्रमणको जोखिम बढेको स्थानीयले बताएका छन् । होम क्वारेन्टिनमा बसिरहेका धनगढी–१, का बिनोद बिकले घरमा सबैको सम्पर्कबाट टाढा बस्न सम्भव नभएको बताए । ‘छुट्टै कोठामा सुते पनि शौचालय, धारा उही हुन्छ, कहीँ न कहीँ सम्पर्क भइहाल्छ ।’ उनले भने, ‘बरु सुविधा भए क्वारेन्टिनमै सुरक्षित भईन्थ्यो ।’ कसैसँग पनि सम्पर्क नहुने गरी घरमा बस्न गाहे भएको बिनोदले बताए ।
धनगढी उपमहानगरले गठन गरेको नगरस्तरीय कोभिड व्यवस्थापन उपसमितिका संयोजक एवम वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले भारतबाट फर्केकालाई होम क्वारेन्टिनमा बस्ने गरी घर पठाउने गरिएको बताए । कोरोनाको लक्षण देखिए अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको उनले बताए । नगरले बनाएको आइसोलेसन वार्डमा भने संकास्पद २२ जनालाई राखिएको वडाध्यक्ष बरालले बताए । ‘एउटा क्वारेन्टिनमा एक दुई, एक दुई जना मात्र हुँदा सुरक्षा लगायत व्यवस्थापन गर्न पनि समस्या भयो ।’ उनले भने, ‘अब स्कूल पनि चलाउने अवस्था आउन सक्छ । क्वारेन्टिन बनाइएकाले केही दिन अघि सरसफाइ पनि गर्नुप¥यो । त्यसैले क्वारेन्टाइन खाली गरेका हौँ ।’