सीमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने
2020/07/21, 1:22
 
salah

भारतको सीमावर्ती क्षेत्रमा रहेका सलहका झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन विज्ञले आग्रह गरेका छन् । राजस्थानबाट केही झुण्ड उत्तर प्रदेशतर्फ प्रवेश गरेका र हावाको बहाबसँगै नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिए । 

रातको समयमा र पानी परेको समयमा उड्न नसक्ने भए पनि हावाको तीव्र बहाबका कारण जुनसुकै बेला नेपाल आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन उनको आग्रह छ । साथै सलह भगाउनका लागि आवश्यक पूर्व तयारी गर्न पनि केन्द्रले किसानलाई आग्रह गरेको छ । 

केन्द्रको पछिल्लो अनुमान अनुसार भारतको राजस्थानमा रहेका सलहको झुण्ड जयपुर तथा दिल्ली हुँदै उत्तर प्रदेशको आग्रा, कानपुर, ग्वालीयरतर्फ अगाडी बढ्न सक्ने देखिएको छ । यही सलहको झुण्ड पश्चिम, दक्षिण पश्चिम तथा दक्षिणबाट हावासँगै नेपालको मध्य तथा पश्चिम तराई र सुदूरपश्चिम क्षेत्रबाट जुनसुकै बेला नेपाल प्रवेश गर्ने सम्भावना भएको हो ।

भारतको मौसम विज्ञान विभागका अनुसार ७ गतेसम्म राजस्थानमा हल्का वर्षाको मात्रै सम्भावना छ । उत्तराखण्ड र उत्तर प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही त्यस क्षेत्रका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । पानी परेको बेला सलह नउड्ने भए पनि हावाको तीव्र वहाबका कारण जतिबेला पनि आउन सक्ने भएकाले सावधानी भने अपनाउन उनले आग्रह गरे ।

सलहले विशेषगरी तरकारी बालीमा केही क्षति गरे पनि पूर्वतयारी र सतर्कताका कारण धेरै नोक्सानी नभएको उनको भनाई छ । सलह भगाउनका लागि धुवाँ, ध्वनी, अन्य विविध उपायहरुका साथै विषादीको समेत प्रयोग गरिएको छ । अहिले मौसम प्रतिकूल भएकाले अग्ला रुखहरु तथा जङ्गलमा आश्रय लिइरहेकोले विषादी प्रयोग गरेर मार्न कठिनाइ भइरहेको सुवेदीले बताए । कञ्चनपुरको पुनर्वास क्षेत्रमा रहेको सलहको झुण्ड भने सीमावर्ती भारतमा तथा यसको केही अंश डडेलधुरा तथा बैतडीसम्म पुगेका छन् ।