बाजुराको बुढीगंगा नगरपालिकाको बजेडी र लडाङ गाउँ दुई दशकदेखि पहिरोको उच्च जोखिममा रहेका छन । गाउँको चारै तिरबाट पहिरो आएपछि लडाङको सिंगो बस्ती नै पहिरोको उच्च जोखिममा रहेको त्यहाँको स्थानीयले बताएका छन । गएको साता धेरै पानी परेपछि पहिरोहरु बढ्न थालेका छन । स्थानीय दयाराम जोशीले भने, ‘२० वर्ष भयो पहिरो आउन सुरु भएको अझै रोकिएको छैन, पहिलो वर्षैपिच्छे बढ्दै गइरहेको छ।’ यो समयमा बजेडीका १ सय ३७ घरधुरी र लडाङका १ सय १० घरधुरी पहिरोको जोखिममा रहेको आँकलन गरिएको छ भने, बजेडीका २० घरधुरीहरु विस्थापित भईसकेका छन । बुढिगंगा नगरपालिका वडा नम्बर १ मा रहेको डुग्री र कुडीका २ वटा बस्ती पूर्ण जोखिममा भएको स्थानीय भरतराज उपाध्यायले बताए ।
बिस्थापित भएकाहरु हाल छिमेकीको घरमा ओत लागेर बसेका छन् । कुडीका भुज चदारा, जीत चदारा, शान्ती चदारा, दिपक सिहं, गोरे दमाई,राम साउँद र भोज चदाराका घरहरु पनि उच्च जोखीममा भएकाले घर नजिकैको स्कुल र मन्दिरमा पाल हालेर बसेका छन । बुढीगंगा नगरपालिकाका प्रमुख दिपक विक्रम शाहले प्रमुख जिल्ला अधिकारीलाई बस्ती सार्न केन्द्रमा पहल गर्नका लागि पटक पटक अनुरोध गर्दा समेत वास्ता नगरेको बताए । ‘नगरपालिकाले उनीहरुलाई राहत दिने हो’, उनले भने, ‘त्यो भन्दा बढी के नै सहयोग गर्न सक्छ ।’ अगाडी उनले भने, ‘पुरै घरधुरी विस्थापित हुने अवस्था छ, एउटै गाउँ मात्र होइन दुई गाउँ नै विस्थापित हुने अवस्थामा छन’, उनले भने, ‘केही दिन अघि आएको वर्षाका कारण ताप्री सेरामा रहेको पक्की पुल बाढीले बगाउँदा त्यहाँका व्यापारीलाई समेत समस्या भएको छ, व्यापारी नै त्यो ठाउँबाट सार्नुपर्ने अवस्था छ ।’
२०५० साल पहिले देखि पहिरो बग्न थालेको बजेडी गाउँमा यो वर्ष झनै जोखिम देखिएको छ । दर्जनौ परिवार विस्थापित बनेपनि बीचमा केही वर्ष पहिरो सामान्य रोकिएको थियो । यो वर्ष भने फेरि सिंगो गाउँ नै विस्थापनको खतरा बढेको नगर प्रमुख शाहको भनाई छ । हाल विस्थापित बनेका २० परिवार गाउँमा रहेको विद्यालयमा पाल टाँगेर बस्न थालेका छन् । दुईदिन देखि विद्यालयको खुला चौरमा पाल हालेर बस्ने गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक दान बहादुर रोकायाले बताए । विस्थापित परिवारको बारेमा बुझ्न जिल्ला दैविक प्रकोप उद्धार समितिको टोली पनि त्यहाँ पुगेको छ । पहिले देखि नै पहिरोको जोखिम रहेको बजेडीमा यो पटक झनै जोखिम निम्त्याएको वडा अध्यक्ष हिरालाल थापाले बताए । अवस्था बुझ्न गाउँ पुगेको टोलीले तत्काल अर्को विकल्प नरोजे ठूलो समस्या आइपर्ने उनको आँकलन रहेको छ । आईतबार राति अबिरल वर्षासंगै आएको बाढी पहिरोले बुढीगंगा नगरपालिकाकोे कुडी, बजेडी, नडाङ, मुशी ताँप्रीसेराका अधिकांश बस्तीहरु जेखिममा परेका छन् ।