लकडाउनको अवस्था सुधार नभए सुदूरपश्चिम प्रदेशमा खाद्यान अभाव हुने
2020/05/15, 8:48
 
kisan

कोरोना भाइरसको संक्रमणबाट जोगिन लकडाउनका कारण किसानका उत्पादनमा नोक्सानी भएको छ । ढुवानी र आपूर्ति व्यवस्था पनि नियमित हुन नसकेको अवस्थामा लकडाउन लम्बिँदै गएमा सुदूरपश्चिम प्रदेशमा खाद्यान्न अभाव हुने देखिएको छ ।

अहिले निजी क्षेत्रसँग पनि खाद्यान्न मौज्दात रहेको तर अहिलेकै अवस्था रहेमा अवको २ महिनापछि खाद्यान अभाव झेल्नुपर्ने सरकारी अधिकारीहरुले जनाएका छन् । नौ हजार क्विन्टल धान र चामल मौज्दात रहेकोमा त्यो पहाडी जिल्लामा वितरण गरेमा एक महिना पुग्ने र त्यसपछि अभावको स्थिति सिर्जना हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले बताए । 

२० हजार क्विन्टल खरिदका लागि टेण्डर प्रक्रिया थालिएको र त्यस अनुसार खाद्यान उपलब्ध भएमा सहजता हुने उल्लेख गर्दै श्रेष्ठले त्यस अनुसार खाद्यान नपाए समस्या हुने बताए । ‘किसानले नियमित उत्पादन गर्न सकेमा, ढुवानी सहज भएमा समस्या हुँदैन,’ उनले भने, ‘कोरानाले यस्तै असहज अवस्था भएर किसानले नियमित उत्पादन गर्न सकेनन् र बजारमा मौज्दात रहेको सिद्धियो भने २ महिनापछि समस्या हुने देखिन्छ ।

सुदूरपश्चिम प्रदेशका सरकारका कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सुदूरपश्चिममा अहिले नै खाद्यान्न अभाव हुने अवस्था नरहेको बताईन् । खाद्यान पर्याप्त अवस्थामा रहेको उनको भनाइ छ । कोरोनाको कारण खाद्यान्न अभाव हुन नदिन प्रदेश सरकारले योजना बनाइरहेको उनले जानकारी दिईन् । ‘अहिलेलाई पर्याप्त छ, कोरोनाको कारण अभाव हुन नदिन हामीले विशेष ध्यान दिएका छौं,’ उनले भनिन्,– लकडाउनका सुरु दिनमा किसानको उत्पादन केही नोक्सान भए पनि उनीहरुलाई असर नपर्ने गरी योजना बनाईराखिएको छ । सुदूरपश्चिममा कैलाली र कञ्चनपुर अन्नको भण्डार मानिन्छ । तर सिँचाई, उन्नत बिउ, मलखाद र प्रविधिको अभावले क्षमता अनुसार उब्जनी हुन सकेको छैन ।