सुदूरपश्चिममा सलहले खासै क्षति गर्न पाएन, त्रास भने कायमै
2020/07/27, 6:47
 
salah

दुई साताअघि भारतको खिरी जिल्लास्थित दुधुवा नेसनल पार्क भएर कैलाली र कञ्चनपुर भित्रिएको सलहको झुण्ड छुट्टिएर सुदूरपश्चिमका विभिन्न जिल्लामा फैलिएको छ । कञ्चनपुरको पुनर्वास, दक्षिणपूर्वी क्षेत्र लालझाडी, कृष्णपुर नगरपालिका, भीमदत्तलगायत क्षेत्रमा देखिएको सलह अहिले पहाडका विभिन्न जिल्लामा स–साना समूहमा देखिन थालेको छ ।

कैलाली कञ्चनपुर भित्रिएको सलहको झुण्ड छुट्टिएर पहाडमा देखिएको प्रदेश कृषि निर्देशनालय प्रमुख यज्ञराज जोशीले बताए । ‘सुदूरपश्चिम लक्की हो, भारी वर्षाका कारण सलहले आक्रमण गर्न पाएन’, जोशीले भने, ‘हालसम्म सलहले सुदूरपश्चिममा कुनै क्षति गर्न पाएको छैन ।’ धानको बारीमा सहलको झुण्ड पस्ने बित्तिकै किसानले थाल ठटाउनुका साथै बारीमा देख्ने बित्तिकै धपाएका कारण सलहलाई चरनका लागि उपयुक्त वातावरण नभएका कारण सलह हराउँदै गएको र क्षति गर्न नपाएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए ।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र बाजुरा गरी ५ जिल्लामा देखिएको सलहको सानो झुण्ड आइतबार बाजुराको कोल्टीमा देखिएको छ । सलह खेतमा देखिए पनि ठूलै क्षति भने नगरेको बुढीनन्दा नगरपालिका कृषि शाखाले जनाएको छ । सुदूरपश्चिममा कैलालीमा दुई पटक र कञ्चनपुरमा एक पटक सलह देखिए पनि हालसम्म कुनै क्षति नगरेको प्रदेश कृषि निर्देशनालयले जनाएको छ । सलहले क्षति नगरे पनि कृषकमा त्रास भने कायमै छ ।