सुदुरपश्चिमका २८ वटा स्थानीय सरकारले अझै ल्याएनन् बजेट
2020/07/27, 3:33
 
badget

चालु आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनिदेशभर अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका वेला सुदुरपश्चिमका पनि २८ वटा स्थानीय सरकार असफल भएका छन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म सुदुरपश्चिम प्रदेशका ६० वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ ।  यो तथ्यांक मन्त्रालयको पोर्टल मार्फत सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणमा आधारित भएर बनाईएको मन्त्रालयले जनाएको छ ।

आइतबारसम्म अझै २८ वटा स्थानीय तहमा बजेट आएको छैन । बजेट ल्याउन नसकेका स्थानीय तहको कुल प्रतिशत ३१.८१ हो ।

समयमै बजेट नल्याए के हुन्छ ?
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले १० असारमा बजेट ल्याउनु पर्छ । यो बजेट असार मसान्तसम्म पास गरिसक्नु पर्छ । किनकी सम्बन्धित सरकारको व्यवस्थापिकाबाट पास नभएसम्म बजेट कार्यान्वयन गर्न मिल्दैन । तर, बजेट पास नभएको अवस्थामा वा ल्याउन नसकेको अवस्थामा अनिवार्य दायित्वमा मात्र खर्च गर्ने गरी कार्यपालिकाले बजेट चलाउन सक्छ । त्यसरी खर्च गरेको बजेट पनि अन्ततः व्यवस्थापिकाबाट भने पास गराउनै पर्छ । यसरी बजेट ल्याउन नसक्दा स्थानीय सरकारको प्राथमिकता अनुसार विकास निर्माण र पुँजिगत काम अगाडी बढ्न सक्दैनन् । केवल तलव भत्ता मात्र खाएर स्थानीय सरकार संचालन हुन्छ ।

स्थानीय सरकारहरु स्वायत्त भएका कारण बजेट समयमै नल्याउने स्थानीय सरकारलाई केन्द्रले कानूनी रुपमा कारवाही भने गर्न सक्दैन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाका अनुसार केन्द्रबाट जाने विभिन्न प्रकारका अनुदान रोकेर स्थानीय सरकारलाई जिम्मेवार बनाउने प्रयास गरिएको छ । अघिल्लो साता व्यवस्थापिका संसद, अर्थ समितिमा सयममै बजेट नल्याउने स्थानीय तहको सन्दर्भमा छलफल भएको थियो । छलफलमा सांसदहरुले यस्ता स्थानीय तहमाथि केन्द्रले कारवाही गर्नुपर्ने माग गरेका थिए ।

जवाफमा अर्थमन्त्री खतिवडाले बजेट ल्याउने र त्यसलाई कानून अनुसार कार्यान्वयनको वातावरण बनाउने जिम्मेजारी स्थानीय जनप्रतिनिधिको भएको भन्दै त्यसरी समयमै काम गर्न नसक्ने जनप्रतिनिधिलाई जनताले अर्को चुनावमा हराएर कारवाही गर्न सक्ने बताएका थिए । ‘काम गर्न नसक्ने जनप्रतिनिधिलाई हामीले त केही गर्न सक्दैनौं, उनले भनेका थिए, ‘अर्को चुनावमा जनताले भने पक्कै कारवाही गर्न सक्नुहुन्छ ।’