क्वारेन्टिनमै आत्महत्या गरेका अछामका युवकको पिसिआर रिपोर्ट पोजेटिभ
2020/07/27, 5:37
 
corona

अछाम घर भएर बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार क्वारेन्टिनमा आत्महत्या गरेका युवकको कोरोना पोजेटिभ आएको छ । दुई दिन अघि भारतबाट आएर कैलाली हुँदै बर्दिया पुगेका उनको आत्महत्या गर्नुअघि स्वाब संकलन गरिएकोमा रिर्पोट पोजेटिभ आएको हो । 

आइतबार मात्रै उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको र सोमबार उनको रिपोर्ट पोजेटिभ आएको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिए । नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापनको तयारी गरिरहेको छ ।

अछामको बन्निगढी गाउँपालिका घर भएका रामबहादुर सावद ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमा दुई दिन बसेको ठाकुरबाबाका प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए । उनले क्वारेन्टिन पछाडीको रूखमा तन्नाको पासो लगाएर आत्महत्या गरेको रिजालले बताए ।

भारतको राजस्थानबाट आएका युवक ठाकुरबाबामा आफन्त कहाँ गएका थिए। आफन्तले क्वारेन्टिनमा बस्नुपर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई क्वारेन्टिनमा लगेको रिजालले बताए ।