सावधान ! मास्क नलगाउँदा कारबाहीमा परिएला
2020/07/28, 1:17
 
ddl

डडेल्धुरा जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा मास्कको प्रयोग नगरी हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न थालेको छ । पहिलो पटकका लागि कारबाहीमा परेकालाई एक सय रुपैयाँ जरिवाना गरेको छ ।  प्रहरीले मास्क प्रयोग नगर्ने १९ जनालाई सोमबार कारबाही गरेको हो । मंगलबार पनि मास्क बिना सदरमुकाम आउने र जथाभावी घुम्ने मानिसलाई कारबाही गरिएको प्रहरीले जनाएके छ ।

उनीहरुलाई पहिलो पटक एक सय रुपैयाँका दरले जरिवाना गरी सम्झाइ बुझाइ गरी छोडिएको प्रहरी सहायक निरीक्षक चन्द्र धामीले बताए । जरिवाना वापत गरिएको कारबाहीबाट एक हजार नौ सय रुपैयाँ राजश्व संकलन भएको प्रहरी सहायक निरीक्षक धामीले बताए । लकडाउन खुले पनि कोरोना भाइरसको जोखिम भने कम भएको छैन ।

कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले मास्कको प्रयोग अनिवार्य गरेको छ ।  जिल्ला सदरमुकाममा मास्क बिनाका सवारी चालक र स्थानीयलाई कारबाही गरेको प्रहरीले जनाएको छ । कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ ।