रेशम चौधरीको समर्थनमा टीकापुरमा अभियानः ‘हाम्रो जनप्रतिनिधि खोई ?’ 
2020/07/28, 8:12
 
resam chaudhary

कैलालीको क्षेत्र नम्बर १ जनप्रतिनिधि विहीन भएको भन्दै टीकापुरमा युवाहरूले रेशम चौधरीको समर्थनमा अभियान सुरु गरेका छन् । स्वतन्त्र युवा समूहद्वारा आयोजित र्याली तथा कोण सभामा टीकापुरका युवाहरु स्वस्फुर्त उपस्थित भएका थिए । बसपार्कबाट सुरु भएको र्याली खडक चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा युवाहरु हाम्रो जनप्रतिनिधि खोई ?, जनप्रतिनिधि विहिन बनाउन पाईदैन, टीकापुरको विकास खोइ ?, निर्दोष भए रिहा गर, कि उप निर्वाचन गर लगायत लेखिएका प्लेकार्ड र नारा लगाएका थिए ।

यस्तै कोण सभामा क्षेत्र नम्बर १ विगत तीन बर्षदेखि जनप्रतिनिधि विहीन रहेको तर सम्बन्धित निकाय कुनै चासो नदेखाएकोले युवाहरू सडकमा आउनु परेको बताएका थिए । सभालाई सम्बोधन गर्दै युवा गणेश वलीले भने–‘कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरी जेलमा छन् । तर राज्यले न उपनिर्वाचन गर्यो, न उनको रिहाइ । पार्टी र नेताहरू आफ्नो सहजता हेर्दै चुपचाप छन् तर जनतालाई जनप्रतिनिधी विहिन बनाइएको छ ।’ 

सभालाई सम्बोधन गर्दै अर्का युवा लोक बहादुर बुढा भने–‘सांसद नहुदा विकासमा बाधा भयो, टीकापुरका कुरा सांसदमा कस्ले सुनाइ दिने ? निर्वाचित सांसद जेलमा छन्, उप निर्वाचन गर्नुपथ्र्यो या दोषी नभए आफ्नो क्षेत्रमा काम गर्न रिहा गर्नुपथ्र्यो ।’ त्यस्तै अर्का युवा अनुज हमालले अब युवा नै अग्रसर नभएसम्म टीकापुरमा विकास नहुने बताए । राजनीतिकर्मी, व्यापारी लगायतले टीकापुरको विकास र जनताको अधिकारका लागी चासो नदिएको गुनासो गरे । 

अधिकारको खोजी गर्ने सुरूवात भएको र यसैगरी बाँकी बर्षहरू पनि बित्ने स्थिति आए कडा आन्दोलन गर्ने युवाहरूले चेतावनी दिएका छन् । प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरी निर्वाचित भएका थिए । उनले वारेस मार्फत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिए । फरार रहेकै अवस्थामा राजपाबाट कैलाली १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी भारी मतान्तरले विजयी भएका थिए ।

सांसद चौधरीले एमालेकी उम्मेदवार मदनकुमारी शाहलाई २०९३५ मत अन्तरले पराजित गरेका थिए । सांसद चौधरीले ३४३४१ मत प्राप्त गरेका पाएका थिए भने शाहले १३४०६ मत प्राप्त गरेकी थिइन् । थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यस क्रममा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो । सो घटनामा दोषी रहेको अभियोगमा जिल्ला अदालत कैलालीले सांसद चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेको थियो ।