लगातारको वर्षाले कैलालीको धनगढी लगायतका भू भाग डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् । नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए ।
जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउँछन् । ‘कुलो फुटेर बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन पटानी भएको छ’, चौधरीले भने, ‘सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।’ टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ ।
निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए । ‘वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्’, बडघर जैशीले भने, ‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जान सक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।’ लगातारको वर्षाले टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ ।
पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिज वृद्धि कृषि सहकारी संस्थामा रहेको दुई सय क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जान सक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए । टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए ।
कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ । धनगढीका हसनपुर, शिवनगर, उत्तरबेहडी, क्याम्पसरोड लगायतका ठाउँ जलमग्न भएका छन् । कान्द्रा, काँडा र पथरैया नदीको बाढी कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्तीमा पस्दा डुबान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काँडा नदी गाउँ परेपछि २५ घर डुबानमा परेका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ । यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन् । काँडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घरमा डुबान भएको छ ।
कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन् । घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयबासीले बताएका छन् । बाढी सूचना केन्द्रले कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
५ ठूला नदीका तटीय क्षेत्रमा जोखिम
यसैबीच आगामी ३ दिन पाँच ठूला नदीका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । बाढी सूचना केन्द्रले कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदी जलाधार क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ । केन्द्रले ती नदी र प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूर पश्चिम प्रदेश भई बहने साना नदीमा बहाव सतर्कता आसपास हुने र केहि साना नदीमा खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज कन्काई, आरूणखोला, पश्चिम राप्ती, बबई , रिउखोला, तिनाउ, बाणगंगा, कान्द्रा, मोहना खुट्टिया, चौधर र यसका केही सहायक नदीमा आकस्मिक बहाव भई खतरा तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ ।