खोला नाला अतिक्रमणले निम्त्याएको क्षणभरकै बर्षाले धनगढी डुवान
2020/07/29, 12:30
 
badi

बर्षायाम सुरु भएसंगै धनगढी उपमहानगरपालिकाको अधिंकास भूभाग जलमग्न हुने गरेको छ । उपमहानगर भित्र भएका प्राकृतिक खोला नाला अतिक्रमण भएपछि डुवान समस्या बर्षेनी दोहोरिने गरेको छ । धनगढी मुख्य कैलाली नाला, सुकुटी नाला, सबैभन्दा अतिक्रमणमा परेका छन् । उपमहानगरमा भएको प्राकृतिक नालाहरु अतिक्रमण हुँदा धनगढीको हसनपुर, विशालानगर, सरस्वती नगर, पार्क मोड, चटकपुर सबै भन्दा बढी डुवान क्षेत्र हुन् । पानी निकास हुने स–सना नालाहरु हराउँदै जादा डुवान समस्या हुने गरेको धनगढी उपमहानगर–२ की धना बटालाले बताइन् । सही रुपमा पानी निकास नहँुदा भएको सडक पनि जिर्ण छन् ।

सडकमा पानी बग्ने हुँदा अघिल्लो बर्ष निर्माण गरेका सडक दोस्रो बर्ष खाल्डा खुल्डी पर्ने समस्या छ । धनगढी उपमहानगरपालिका–४ रातोपुल भएर दक्षिणमा भग्ने नाला हराउँदै गएको छ । रातोपुलबाट दक्षिणमा बग्ने सो नाला विभिन्न व्यक्तीहरुले अतिक्रमण नाला बीच भागमा घर निर्माण गरेका छन् । नालाको चौडाई कम्तीमा १० मिटर हुनुपर्ने कानुनी व्यवस्था भए पनि बीच भागमा नै घर निर्माण गरिएका छन् । उपमहानगरको चटकपुर क्षेत्रको नाला पनि अतिक्रमणमा परेको छ । स्थानीयहरुले अतिक्रमण क्षेत्र खाली गर्नका लागि समय–समयमा दवाव दिँदा समेत वेवास्था हुने गरेको चटकपुरका बलबहदुर चन्दले बताए । 

बर्सेनी धनगढी नगरका विभिन्न कुलो, नाला र खोला अतिक्रमण गर्ने क्रम रोकिएको छैन । अतिक्रमण हटाउने र अतिक्रमण गर्नेलाई कारवाही नहुँदा बर्सेनी खोला, नाला अतिक्रमणबाट साँघुरिँदै र पुरिँदै गएको स्थानीय गुनोसो छ । खोलानाला साँघुरिँदा वर्षातमा धनगढी बासी डुबानको समस्या झेल्दै आएको चटकपुरका स्थानीय शेरबहदुर धामीले बताए । बसपार्क पछाडी बग्ने नाला विस्तारै हराउँदै गएको छ । नाली माथि नै ठूलठुला घर निर्माण भएका छन् । एक दशक अगाडि सम्म सहजै पानी बग्ने उक्त नालामा अहिले कुनै ठाउँमा ५ मिटर पनि क्षेत्रफल नभएको स्थानीय सन्तोष बोहराले बताए । 

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेको तीन वर्ष पुगेको छ । निर्वाचित भए लगत्तै उपमहानगरका प्रतिनिधिहरूले नगरभित्रका खोलानाला, सरकारी तथा सार्वजनिक, ऐलानीपर्ती जमिनमा भएको अतिक्रमण हटाउने निर्णय गरेका थिए ।  तर, नगरभित्रका खोलानाला तथा ऐलानी पर्ती जग्गा अतिक्रमण कम हुनुको साटो उल्टै बढेको छ । स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४ को नियम ९ (३३) अनुसार सरकारी वा सार्वजनिक, ऐलानी र पर्ति जमिनमा भएको अतिक्रमण हटाउने र त्यस्ता जमिनको संरक्षण गर्ने व्यवस्था अनुसार त्यस्ता अतिक्रमण हटाई उक्त जग्गाहरूको संरक्षण जिम्मा स्थानीय सरकारलाई छ ।

अतिक्रमण हटाउने कार्यका लागि धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीको संयोजकत्वमा एउटा समिति गठन समेत ग¥यो । समितिले धनगढीको सुकुटि नालाको प्रतिवेदन तयार पा¥यो । प्रतिवेदनमा ‘सो खोलाको छेउछाउमा अनधिकृत रुपमा केही घर, शौचालय लगायतका भौतिक संरचना निर्माण गरेको पाइएको’ उल्लेख छ । उपमहानगरका प्रवक्ता समेत रहेका वडाध्यक्ष मुडभरीले भने । ‘कर्मचारी अभाव र अमिनको व्यस्तताका कारण अरु खोलानालाको अवस्थाबारे अनुगमन गर्न सकिएन ।’

यस वर्ष प्रतिवेदन तयार पारिएको खोलामा अतिक्रमण गरि बनाइएका भौतिक संरचना हटाउने तयारी गरिएको भए पनि कोरोना भाइरसका कारण काम गर्न कठिनाई भएको दावी गरे । ‘अब हामीले प्रतिवेदन तयार पारेका खोलानाला अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गर्छौं र अन्य खोलानालाको पनि प्रतिवेदनहरू तयार गर्ने क्रममा छौं ।’ उनले भने । उपमहानगरपालिकासँग नगरभित्रका के–कति खोला अतिक्रमण भएका छन् भन्ने तथ्यांक भने छैन । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले समितिलाई खोलानालामा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन निर्देशन दिइसकेको बताए ।