ई–सिफारिसले छरितो सेवा पाउँदा धनगढी र कैलारीका सेवाग्राही  दंग 
2020/03/18, 12:10
 
SEWAGRAHI

सीताराम ओझा, धनगढी, चैत ०५- चार किल्लाको सिफारिस लिनका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयमा आएका हरेन्द्र धामी छरितो सेवा पाउँदा दंग परे । वडा कार्यालयले ई–सिफारिस सेवा सेवा सुरु गरेपछि उनको काम १० मिनेटमै सकिएपछि उनलाई अचम्म समेत लाग्यो । ‘अरु पनि थिए कामका लागि आएका, भिड भएकोले १० मिनेट लागेको हो मेरो सिफारिस त एकदिनमै बन्यो’– खुशी हुँदै प्रसन्न मुद्रामा उनले भने । ‘पहिले सरकारी कार्यालय भनेपछि ढिलासुस्ती हुने, कर्मचारीले असहयोग गर्ने जस्ता तितो अनुभव हुन्थ्यो,’ हरेन्द्रले भने, ‘यस पटक त्यस्तो केही भएन, बरु सहजै काम भयो, मलाई अचम्म लाग्यो ।’ घर बाटोको सिफारिस लिन वडा कार्यालयमा आएका शंकर कामी पनि छिटो छरितो काम भएपछि खुसी भए । उनलाई पनि वडा कार्यालयका कर्मचारीले तुरुन्तै काम गरि दिए । ‘घर बाटोको सिफारिस कसरी लिने, कसरी निवेदन लेख्ने भनेर नै अलमल हुन्छ की भन्ने लागिरहेको थियो, शंकरले भने, ‘छिटै सिफारिस पाएँ, खुसी लाग्यो ।’

छोरीसँगको नाता सिफारिसका लागि वडा नम्बर १५ को वडा कार्यालयमा पुगेका प्रसाद रानालाई पनि सिफारिस लिनका लागि समय लागेन् । न त लामो समयसम्म लाईन लागेर कति वेला पालो आउँला भनेर कुर्नु प¥यो न त कसरी सिफारिस लिने भन्ने चिन्ता नै भयो । वडाका कर्मचारीले नाता सिफारिसका लागि भन्ने वित्तिक्दै कम्प्युटरमा तयार पारिएको फाराम रानाले भने अनुसार नै प्रिन्ट गरेर दिए । ‘निवेदन लेख्न आउँदैनथ्यो, कसलाई लेखी माग्ने होला भन्ने लागेको थियो, उनले भने, ‘वडा कार्यालय आएपछि केही पनि गर्नु परेन् । सरलाई भनेको काम भई हाल्यो । धनगढी उपमहानगरपालिका विभिन्न वडाका मात्रै होईन की छिमेकी कैलारी गाउँपालिकाका सेवाग्राहीलाई पनि ई–सिफारिसले सजिलो बनाएको छ । 
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को वडा कार्यालयमा हालसम्म ४६ जनाले ई–सिफारिस सेवा लिएका छन् । सवैभन्दा वढी चार किल्ला सिफारिस ३८ जना, घर बाटो सिफारिस ५ जना, कोर्ट फी सिफारिस २ जना र जातिगत सिफारिस एक जनाले लिएका छन् । स्थानीय सरकारले जनतालाई दिने सेवामा सहजीकरण गर्ने स्थानीय सरकारको केही सूचनाहरू जनतालाई प्रवाह समेत गर्ने उद्देश्यका साथ वडा कार्यालयले ई–सिफारिस गरिरहेको वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मु्डभरीले जानकारी दिए । ‘विगतमा फाराम भर्न समेत नजानेर अलमलमा पर्ने सेवाग्राहीलाइ सहज भएको छ । सहज गर्नका लागि हामीले पनि सबै खाले सहजीकरण गरिरहेका छौं,’ उनले भने, ‘गुड गर्भन्सका लागि यो प्रभावकारी माध्यम हो । यस्तो सेवालाई निरन्तरता दिनुपर्छ ।’

धनगढी उपमहानगरपालिको वडा नम्बर १५ को वडा कार्यालयले पनि हालसम्म १९ जनालाई ई–सिफारिस सेवा दिएको छ । जातिगत एकल महिला सिफारिस ७ जना, चार किल्ला सिफारिस ६ जना, दलित सिफारिस २ जना तथा नाता प्रमाणित र दुवै नाम एक सिफारिस एक एक जनालाई दिईएको वडा नम्बर १५ का सामाजिक परिचालक मन्नुराम चौधरीले जानकारी दिए । ‘पहिले सवै सिफारिस हातले लेख्नुपथ्र्यो । केही सिफारिस पुरै कम्प्युटरमा टाईप गर्नुपथ्र्यो तर अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘ई सिफारिसको फरम्याटमा केही मर्ज गर्नुपर्नेछ । केहीमा सुधार गर्नुपर्ने देखिन्छ । त्यसो भयो भने यो अझ राम्रो हुन्थ्यो ।’ सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारी तथा धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको समन्वयमा द्ुवै स्थानीय तहमा सञ्चालित सुशासन परियोजना अन्तर्गत ई सिफारिसको व्यवस्था भएपछि सेवाग्राहीलाई सहजता भएको हो । ‘कागजी रुपमा सिफारिस गर्दा डुब्लिकेसन हुने, गलत नियत भएकाहरुले फेरि नयाँ सिफारिस बनाउन सक्थे । अव एक चोटी ईन्ट्री भएपछि सकियो, वडा नम्बर १५ का वडाध्यक्ष फुलराम चौधरीले भने,– अपरािधक घटनाहरुका लागि मिलाउन पनि मिल्दैन् । सिफारिस नयाँ बनाउनै मिल्दैन् । यसबाट  पारदर्शीता र सुशासन समेत कायम भएको छ । काम गर्न पनि धेरै सजिलो भएको छ ।’ 


वेवसाईटमा तयारी अवस्थामा राखिएका विभिन्न ४१ किसिमका सिफारिस लिनका लागि सहज हुन थालेपछि दुवै स्थानीय तहका सेवाग्राही लाभान्वित हुन थालेका छन् । गत तीन महिनादेखि धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका विभिन्न वडाहरुले ई–सिफासिस मार्फत सेवा प्रवाह गर्न थालेका छन् । आफ्नो वडाका नागरिकलाई आजभोली सजिलै तरिकाले सिफारिस गरिरहेको कैलारी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु चौधरीले बताए । ‘सिफारिस लिनका लागि आउँदा सेवाग्राहीको समय बचेको छ । उनीहरुले आफ्नो कामका लागि धेरै समय कुर्नु पर्दैन, चौधरीले भने– यसले कार्यालयहरुको परम्परागत कार्यशैलीमा परिवर्तन ल्याएको छ । समय अनुसार सुचना प्रविधिको प्रयोग गर्दा जनतालाई पनि राहत भएको छ ।’  सेसी र ग्राम विकास तथा अनुसन्धान केन्द्रको साझेदारीमा विगत तीन बर्षदेखि धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा सुशासन परियोजना सञ्चालन भईरहेको छ । सोही परियोजना मार्फत ई–सिफारिस सेवा विस्तार भएको हो । धनगढी उपमहानगरपालिका सवै वडाहरुबाट ई–सिफारिस सेवा सुरु हुन नसकेको अवस्थामा कैलारी गाउँपालिकाका प्रायः सवै वडाहरुले ई–सिफारिस सेवा दिईरहेको सुशासन परियोजनाका जिल्ला संयोजक ठाकुर करिया प्रधानले बताए । ‘धनगढीको वडा नम्बर १, १५, १३ लगायतका वडाहरुले ई–सिफारिस गरिरहेको जानकारी पाएका छौं । अरु वडाहरुले पनि गरिरहेका छन् तर त्यसबारे थाहा हुन सकेको छैन् । कैलारी गाउँपालिकामा पनि एक वडा वाहेक सवै वडाले ई–सिफारिस गरिरहेका छन्, जिल्ला संयोजक करिया प्रधानले भने– धनगढी र कैलारीका सवै वडाका जन प्रतिनिधि र कर्मचारीहरुलाई ई–सिफारिस गर्ने विषयमा अभीमुखीकरण गरेका थियौं । उहाँहरुले त्यसलाई प्रयोगमा ल्याईरहनु भएको छ । ई–सिफारिसमा हाललाई ४१ वटा सिफारिस राखेका छौं र यसलाई वढाउँदै पनि लैजाने योजना रहेको छ । यसमा भएका गल्ती र कमि कमजोरीहरु संकलन गर्दै त्यसमा सुधार पनि गरिरहेका छौं । अवका दिनमा ई–सिफारिस सेवालाई सवै सरोकारवालासँग मिलेर प्रभावकारी बनाउन जरुरी रहेको छ ।’