बाजुराको बुढीनन्दा नगरपालिकाले र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) जाँच गरेको १४ सय शुल्क लिइरहेको छ। जिल्लाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले नगरपालिकाको निर्णय अनुसार शुल्क लिने गरेको पाइएको हो। बाजु्राबाट जहाजमा आवतजावत सर्वसाधारणका लागि आरडिटी टेष्ट अनिवार्य गरेपछी नगरपालिकाले रकम असुल्दै आएको खुलेको हो। जिल्लामा आउने र बाहिर जानेहरुबाट आरडिटी परीक्षणको १४ सय लिँदै आएको स्थानीयले बताएका छन्। उनहरुका अनुसार नगरपालिकाले आफैले किट खरिद गरेको भन्दै जाँच गरेबाफत शुल्क लिइरहेको छ।
सरकारले जुनसुकै तहले आरडिटी परीक्षण गरेको रकम नलिने निर्णय गरेको भएपनी बुढीनन्दा नगरपालिकाले सरकारी आदेशको अटेरी गरेको छ। जुनसुकै सरकारले किनेको भएपनि त्यसरी रकम लिन नमिल्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन्। ‘केही दिन अगाडी गुनासो आएको थियो, हामीले त्यसरी पैसा नलिन भनेका छौ’ उनले भने।
यस्तै नगर उपप्रमुख सृष्टी रेग्मीका अनुसार स्थानीय तहले नै आरडिटी किट किनेका कारण रकम लिएको स्विकार गरिन। १ हजार ३ सय ५० मा भ्याटसहित किट खरिद गरेको र १ हजार ४ सयमा परीक्षण गरिँदै आएको उनले बताइन। यस्तै स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले समेत नगरपालिकाले किट किनेको भएतापनि त्यसरी रकम असुल्न नमिल्ने बताएका छन्।
‘स्वास्थ्य कार्यालयबाट गएको भए यस्तो किन गरेको भन्ने अधिकार स्वास्थ्य कार्यालयको हुन्थ्योे’ उनले भने, ‘स्थानीय सरकारका आफ्नै निर्णय हुन्छन्। हामीले केही बोल्न मिल्दैन।’ यस्तै कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले भने नगरपालिकाले रकम लिनु भनेकाले आफुहरुले परीक्षण वापत १४ सय लिएको बताए।